हमाल दम्पतीले जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग

हमाल दम्पतीले जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी, २३ पुस । छोरीको जन्मदिनको अवसरमा धनगढीको एक दम्पतीले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का सुरेश हमाल र सपना हमालले आफ्नी छोरी सभ्यता हमालको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई खाद्यान्न र जाडोका कपडाहरु वितरण गरेका हुन् ।

छोरीको २० औं जन्मदिनको अवसरमा हमाल दम्पतीले दृष्टि फाउण्डेसनमा बस्दै आएका मानसिक सन्तुलन गुमाएका महिलाहरुका लागि ३५ थान कम्मल, एक कट्टा चामल र एक पेटी तेल सहयोग गरिएको हो । हमाल सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष ह्न् । उनकी छोरी सभ्यता हाल वङलादेशमा एमवीवीएस अध्ययनरत रहेकी छिन् ।

वेसाहारको सहारा बनिरहेको दृष्टि फाउण्डेसनको वारेमा जानकारी पाएपछि मानसिक अवस्था ठीक नभएका महिलाहरुलाई राहत होस भनेर छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताका बुबा सुरेश हमालले बताए । उनले हरेक महिनाको २३ गते मासिक रुपमा एक कट्टा चामल र एक पेटी तेल दिने प्रतिबद्धता जनाए ।

पार्टी गरेर पैसा सक्काउनुभन्दा सानो भएपनि सहयोग गर्नु पर्छ भन्ने संदेश दिनका लागि छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताकी आमा सपना हमालले जानकारी दिईन् । जन्मदिन, वैवाहिक बर्षगाठ र पुण्यतिथिका अवसरमा दिईने सहयोगको भरमा फाउण्डेसन सञ्चालन भईरहेको सञ्चालक कल्पना भट्टले बताईन् ।

उनले सरकारी क्षेत्रबाट सहयोग नभईरहेको अवस्थामा सवैलाई सक्दो सहयोगका लागि अपिल समेत गरिन् । दृष्टि फाउण्डेसनमा मानसिक अवस्था ठीक नभएका महिला र वालवालिका गरी ३५ जना वस्दै आएका छन् ।

विज्ञापन