कञ्चनपुर, ४ असोज
सुदूरपश्चिम कञ्चनपुरकी एक किशोरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हु्ने भएकी छिन । संयुक्त राष्ट्रसंघकोे ८१औँ महासभामा कञ्चनपुर बेलौरीकी छात्रा स्वर्णीमा कँडेल सहभागि हुने भएकी हुन । बेलौरीको उग्रतारा बाल विद्यालय कक्षा १०मा अध्ययनरत छात्रा कँडेल युनिसेफ नेपाल मार्फत सहभागि हुने जनाईएको छ । बाल संगठनका तर्फबाट कँडेल महासभामा सहभागि हुने पहिलो छात्रा भएकोे समेत विद्यालयले जनाएको छ ।
युनिसेफ नेपालकी अधिवक्ता समेत रहेकी बाल अभियन्ता कँडेल अमेरिकाको न्युयोर्कमा हुने महासभामा २२ सेप्टेम्बरदेखि हुने सभामा सहभागि हुन भएकी हुन ।
उनी बाल अधिकारको प्रवद्र्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी पहलमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा कँडेलले युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै युवा अधिवक्ताका रूपमा महासभासँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउने भएको विद्यालयले जनाएको छ ।
उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टले स्वर्णीमाको अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागिता विद्यालयका लागि अत्यन्त गर्वको विषय भएको बताए। उनले स्वर्णीमाले विद्यालयको मात्र नभई समग्र देश, प्रदेश, जिल्ला सहित स्थानीय बेलौरीकै अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए । उनका अनुसार
संयुक्त राष्ट्र संघको सप्ताहका क्रममा उनले विश्वका विभिन्न देशका युवाहरूसँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टहरूमा आफ्ना अनुभव, विचार तथा दृष्टिकोण प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछिन्। साथै, बालबालिका तथा युवाका अधिकार, उनीहरूको कल्याण र किशोरी सशक्तीकरणका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राख्ने अवसरसमेत प्राप्त गर्नेछिन । प्रिन्सिपल विष्टले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुअघि उग्रतारा बाल विद्यालयले बिहीबार स्वर्णीमालाई सफल यात्राको कामना सहित विदाई गरेकोे बताए ।
अन्र्तराष्ट्रिय समारोहमा बेलौरीकी छात्राले समेत सहभागिता पाएपछि स्थानीय सरोकारवाला हर्षित भएका छन । बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अम्बादत्त भट्टले स्वर्णीमाको उपलब्धि बेलौरीका लागि मात्र नभई समग्र नेपालकै गौरवको विषय भएको बताए। कलिलो उमेरमै विश्वकै महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाको मञ्चमा विभिन्न देशका प्रतिनिधि तथा व्यक्तित्वहरूसमक्ष आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बिमला बज्गाईले संयुक्त राष्ट्र संघजस्तो अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनु स्वर्णीमा, उनको परिवार, विद्यालय तथा बेलौरीका लागि गौरवको विषय भएको बताउँदै उनको सफल र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्।
महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्राप्त गर्नु स्वर्णीमाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्वर्णीमालाई बधाई दिँदै सफल सहभागिताका लागि शुभकामना व्यक्त गरेका छन । स्थानीय समेत रहेका उग्रतारा विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द सापकोटाले विद्यालय, अभिभावक र सम्बन्धित पक्षहरूको साझा प्रयास तथा सहयोगले स्वर्णीमाले यो अवसर प्राप्त गर्न सकेको बताए।
बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णीमाको अन्तर्राष्ट्रिय सहभागिताले विद्यालय, बेलौरी तथा सुदूरपश्चिम क्षेत्रका विद्यार्थीलाई समेत आफ्नो प्रतिभा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रेरणा दिने अपेक्षा गरिएको बताए । स्वर्णीमा कँडेलले पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुन आउँदा निकै उत्साहित भएको र आफुले नेपालका बालबालिका, किशोेरी, युवाका विषयबस्तु राख्ने बताईन । समान्य घर परिवारकी छोरी कँडेल यसरी ठुलो सभामा सहभागिताले घर परिवार समेत हर्षित भएका छन ।






