नरेश राना, कञ्चनपुर।
कञ्चनपुरको लालझाडी गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरेको छ। गाउँपालिकाको बजार अनुगमन टोलीले प्रशासकीय अधिकृत श्री भरत बहादुर चन्दको संयोजकत्वमा लालझाडी गाउँपालिका–६ स्थित चान्देव बजार र वडा नं. २ स्थित कन्ज बजारमा खाद्य पदार्थ तथा विभिन्न व्यवसायको अनुगमन सम्पन्न गरेको हो।
चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय, स्वच्छ र सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउने तथा बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा केही पसलमा म्याद नाघेको नमकिन फेला परेको थियो। साथै, केही व्यवसायमा मूल्यसूचीसमेत नराखिएको पाइएको थियो।
अनुगमन टोलीले म्याद नाघेका खाद्य वस्तु बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता वस्तु बिक्री नगर्न व्यवसायीलाई सुझाव दिएको थियो। त्यस्तै, उपभोक्ताले आफूले खरिद गर्ने वस्तुको मूल्यबारे सहज जानकारी पाउन सकून् भन्ने उद्देश्यले पसलमा स्पष्ट देखिने गरी मूल्यसूची राख्न पनि व्यवसायीलाई आग्रह गरिएको थियो।
चाडपर्वको समयमा खाद्य पदार्थको माग बढ्ने भएकाले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। खाद्य वस्तुको म्याद, गुणस्तर, भण्डारण र सरसफाइमा ध्यान दिनुका साथै उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकता दिनुपर्नेमा अनुगमन टोलीले जोड दिएको थियो।
व्यवसायीहरूले पनि प्रचलित नियमअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको छ। बजारमा मूल्यसूची अनिवार्य रूपमा राख्ने, म्याद नाघेका वस्तु बिक्री नगर्ने र खाद्य पदार्थको गुणस्तरमा विशेष ध्यान दिने विषयमा व्यवसायीलाई सचेत गराइएको थियो।





