धनगढी, कैलाली ।
धनगढी, असोज ३० – सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयका प्रधानाध्यापक (प्र.अ.) तथा रोस्टर प्रशिक्षक शिक्षकहरूका लागि आयोजित ५ दिने ‘वैश्विक नागरिक शिक्षा (GCED)’ सम्बन्धी कस्टमाइज्ड तालिम धनगढीमा सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षा तालिम केन्द्र, दिपायलको आयोजना/समन्वयमा शिक्षा तालिम उपकेन्द्र, धनगढी, कैलालीमा असोज २६ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन भएको हो।

तालिमको मुख्य उद्देश्य शिक्षक तथा विद्यालय नेतृत्वलाई बदलिँदो विश्व परिवेशमा विद्यार्थीलाई जिम्मेवार, सचेत, समावेशी र विश्वसँग जोडिएको नागरिकका रूपमा विकास गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्नु रहेको थियो। विद्यालय शिक्षामा स्थानीय विषयवस्तुसँगै विश्वव्यापी समस्या, मानव अधिकार, विविधता, सहअस्तित्व, वातावरणीय दिगोपन तथा जिम्मेवार नागरिक व्यवहारजस्ता पक्षलाई जोड्न वैश्विक नागरिक शिक्षाको महत्वपूर्ण भूमिका रहने विषयमा तालिममा छलफल तथा अभ्यास गरिएको थियो।
तालिममा शिक्षा विभाग, सानोठिमी भक्तपुरबाट प्राविधिक अधिकृत लवदेव भट्ट प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै प्रशिक्षकहरू उत्तम जोशी, मोहनसिंह धामी, सुमना खत्री र हरिश पन्त लगायतले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो। उपनिर्देशक निर्मला कुमारी ठगुन्ना र पदमराज पन्तले समेत तालिमका विभिन्न सत्रमा सहजीकरण गर्नुभएको थियो।

तालिमका क्रममा सहभागी प्रधानाध्यापकहरूले वैश्विक नागरिक शिक्षाको अवधारणा, यसको आवश्यकता तथा विद्यालय तहमा प्रयोग गर्न सकिने शिक्षण विधि र अभ्यासबारे जानकारी प्राप्त गरेका थिए। सहभागीहरूबीच समूहगत छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरणमार्फत विषयवस्तुलाई व्यवहारसँग जोड्ने प्रयास गरिएको थियाे। तालिम कक्षमा सहभागीहरूले समूहमा बसेर छलफल तथा सिकाइ गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए।

तालिममा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विषयलाई समेत समेटिएको थियो। एआईलाई शिक्षण–सिकाइमा कसरी उपयोग गर्ने, शैक्षिक सामग्री निर्माण तथा शिक्षकको कार्यलाई प्रभावकारी बनाउन यसको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै विद्यालय शिक्षामा डिजिटल प्रविधि र एआईको उचित तथा जिम्मेवार प्रयोगसम्बन्धी ज्ञान शिक्षकका लागि आवश्यक बन्दै गएको सन्दर्भमा यो सत्रलाई तालिमको महत्वपूर्ण पक्षका रूपमा लिइएको थियो।
तालिममा सहभागी प्रधानाध्यापकहरूले प्राप्त ज्ञान तथा सीपलाई आफ्नो विद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ। विशेषगरी विद्यार्थीमा आलोचनात्मक सोच, सहकार्य, विविधताको सम्मान, विश्वव्यापी समस्याप्रति संवेदनशीलता र जिम्मेवार नागरिक व्यवहार विकास गर्न वैश्विक नागरिक शिक्षाका विषयवस्तुलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने देखिन्छ।

समापनका क्रममा सहभागीहरूलाई तालिममा सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।पाँच दिने तालिमले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वैश्विक नागरिक शिक्षालाई विद्यालयको शिक्षण–सिकाइसँग जोड्ने र आधुनिक प्रविधि तथा एआईको शैक्षिक प्रयोगबारे थप अभिमुखीकरण प्राप्त गर्ने अवसर प्रदान गरेको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके विद्यार्थीमा स्थानीय पहिचानसँगै विश्वव्यापी सोच, जिम्मेवारी र सहअस्तित्वको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





