नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा रहेको भृकुटी बोर्डिङ स्कुलले विविध सांस्कृतिक कार्यक्रमसहित ११औँ संविधान दिवस भव्यताका साथ मनाएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको संविधानको महत्व, संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार तथा कर्तव्य र राष्ट्रिय एकताका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एन प्याब्सन कञ्चनपुर जिल्ला अध्यक्ष सत्यस बहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यस्तै एन प्याब्सन कञ्चनपुर जिल्ला सचिव कुबेर खड्काएन प्याब्सन जिल्ला कोषाध्यक्ष सूर्यबहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

संविधान दिवसको अवसरमा विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न झाँकी, सांस्कृतिक नृत्य तथा गीत, हाजिरीजवाफ प्रतियोगिता र नाटक प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम तथा झाँकीले नेपालको विविध जातजाति, भाषा, संस्कृति र परम्परालाई झल्काएको थियो। यस्तै, हाजिरीजवाफ प्रतियोगितामार्फत विद्यार्थीहरूमा सामान्य ज्ञान, समसामयिक विषय तथा संविधानसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने प्रयास गरिएको विद्यालयले जनाएको छ।

नाटकमार्फत सामाजिक तथा राष्ट्रिय विषयवस्तुलाई सन्देशमूलक ढंगले प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले संविधान दिवस केवल औपचारिक रूपमा मनाउने दिन मात्र नभई संविधानको मर्म र भावनालाई बुझ्ने तथा व्यवहारमा लागू गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई संविधान, लोकतन्त्र, मौलिक अधिकार तथा नागरिक कर्तव्यबारे जानकारी गराउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै सिर्जनात्मक क्षमता, नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक र राष्ट्रिय भावनाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको सञ्चालन टेकेन्द्र प्रसाद भट्ट र सुन्दर लाल चौधरीले गर्नुभएको थियो। 

सेयर कर दियो ।