धनगढी–१७ स्थित खुटिया नदीबाट उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको छ। तर उत्खननबाट प्राप्त हुने स्रोतको उपयोग भइरहँदा आफ्नै वडाका सडक जीर्ण बनेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्।

शुक्रबारदेखि पत्थरीस्थित खुटिया पुलमा विरोध प्रदर्शन गर्दै स्थानीयले नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसारमा रोक लगाएका छन्। वडा भित्रका चारवटै सामुदायिक वनका अध्यक्षहरूको अगुवाइमा सुरु भएको प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने उनीहरूले बताएका छन्।

स्थानीयका अनुसार बालुवा र ग्रावेल ढुवानी गर्ने ट्र्याक्टर तथा टिप्परका कारण वडाभित्रका सडकमा खाल्डाखुल्डी पर्ने र सडक बिग्रिने गरेको छ। तर उपमहानगरपालिकाले सडक मर्मत तथा ग्रावेलमा बेवास्ता गरेपछि विरोधमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।
स्थानीयले गत वर्ष उपमहानगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको आरोपसमेत लगाएका छन्। खुटिया नदीमा हरेक वर्ष तटबन्ध निर्माण गर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।
उनीहरूले उत्खननबाट प्राप्त स्रोतको लाभ स्थानीय सडक, पूर्वाधार र नदी नियन्त्रणमा समेत देखिनुपर्ने माग गरेका छन्।







