कञ्चनपुरको लालझाडी गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लालझाडी गाउँपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा विभिन्न सरोकारवाला निकायमा संलग्न श्रमिकहरू बीच शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रमको सुरुवात श्रमिक दिवसको अवसरमा आयोजित प्रभातफेरीबाट गरिएको थियो। त्यसपश्चात गाउँपालिकाको सभा हलमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आ–आफ्नो परिचय दिँदै कार्यस्थलमा भोगेका समस्या, चुनौती तथा सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए।अन्तरक्रिया तथा छलफल कार्यक्रममा लालझाडी गाउँपालिका अध्यक्ष निर्मला रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की लगायत विभिन्न वडाका वडा अध्यक्ष लगायत करिब ४५ जनाको सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा रोजगार सेवा केन्द्रका प्रमुख श्री केशव दत्त पन्तले श्रमिक हक–हित, सम्बन्धित कानुन, नीति तथा नियम, विश्व परिवेश र नेपालको वर्तमान अवस्था, साथै गाउँपालिकाबाट श्रमिक क्षेत्रमा प्रवाह भइरहेका सेवाहरू सम्बन्धी विस्तृत कार्यपत्र प्रस्तुति गर्नुभएको थियो।अन्तरक्रियाको क्रममा श्रम सुरक्षा, श्रमिकको हक अधिकार, कार्यस्थलमा हुने विभेद, बालश्रम, तथा कार्यस्थलमा हुने लाञ्छना जस्ता महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आ–आफ्ना धारणा तथा सुझावहरू राख्नुभएको थियो। यसै क्रममा वडा नं. २ का वडाध्यक्ष आशाराम रानाले कार्यस्थलमा हुने दुर्घटना तथा बालश्रमका विषयमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले नेपालको संविधानले सुनिश्चित गरेका श्रमिक हक अधिकारबारे प्रकाश पार्दै यस क्षेत्रमा सुधारका लागि आगामी दिनमा गाउँपालिकाले थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मला रानाले श्रमिक हक अधिकार, श्रम, रोजगारी, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिने बताउदै श्रमिकहरूको सम्मान केवल एक दिनमा सीमित नरही निरन्तर रूपमा कायम रहने विश्वास व्यक्त गर्दै श्रमिक, मजदुर तथा किसानहरूको हक–हित संरक्षण र सेवा–सुविधा सुनिश्चित गर्न गाउँपालिका सधैं प्रतिबद्ध रहने धारणा राख्नुभयो।







