सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

१ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

धनगढी,१ असाेज । दूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गरेका छन् ।आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् । मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् ।

पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएका थिए । 

नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्नुका साथै सत्ता साझेदार दल हो । 

रिक्त रहेका मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । सोही अनुसार एकीकृत समाजवादीले तामाङ र बोहरालाई मन्त्री बनाएको छ ।

तामाङ कञ्चनपुर जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बोहरा बझाङबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् । 

राज्यमन्त्री बोहरा नेकपा एमालेमा विवाद हुँदा अध्यक्ष केपी ओली पक्षमा खुलेकी थिइन् । गत जेठ २५ गते मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत लिँदा समेत राज्यमन्त्री बोहराले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएकी थिइनन् ।

तर एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादी पार्टीमा उनले भदौ २१ गते सनाखत गरेकी थिइन् ।

५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १/१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio