पहुरा डट कमका सञ्चालक लक्की चौधरीलाई ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’

३१ भाद्र २०७८, बिहीबार
पहुरा डट कमका सञ्चालक लक्की चौधरीलाई ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’

कैलाली, भदौ ३१ गते । गोरखापत्र दैनिकका उपसम्पादक तथा हमार पहुरा डट कमका सञ्चालक पत्रकार लक्की चौधरी ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार २०७८’ बाट सम्मानित हुने भएका छन् । प्रेस काउन्सिल नेपालको बुधबार बसेको सञ्चालक समिति बैठकले पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी नगद २० हजार रुपियाँ र सम्मानपत्र रहेको काउन्सिलले जनाएको छ । काउन्सिलले वरिष्ठ पत्रकारसहित अन्य पत्रकारलाई समेत पुरस्कृत गर्ने निर्णय गरेको छ । आप्नो वार्षिकोत्सवको अवसर पारेर असोज ६ गते एक कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको काउन्सिलले जनाएको छ ।

पुरस्कृत हुन लागेका पत्रकार चौधरीको थारु भाषाका ६ वटा पुस्तक प्रकाशित भएका छन् । चौधरीले २०६१ मा ‘सहिदान’ गजलसंग्रह, २०६२ मा ‘तिहुवार’ संस्कृति परिचय, २०६३ मा ‘अन्तर्भाव’ गजल संग्रह, २०७० मा ‘मोर पहुरा’ निवन्ध संग्रह, २०७१ मा ‘नेन्धर’ कविता संग्रह र २०७२ मा ‘हँसौनी’ चुटकिला संग्रह प्रकाशनमा ल्याएका छन् ।

त्यस्तै, कैलालीको धनगढीबाट २०५९ चैतबाट थारु भाषाको साप्ताहिक पत्रिकार ‘पहुरा’ सञ्चालन गरेका थिए । चौधरीले २०६३ वैशाख १ गतेबाट ‘हमार पहुरा’ अर्धसाप्ताहिक प्रकाशन शुभारम्भ गरेका थिए । जुन पत्रिकार थारु भाषाको प्रथम अर्धसाप्ताहिक पत्रिका हो । सोहीअनुसार थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ २०६४ साउन १ गतेबाट प्रकाशित भयो ।

पत्रकारिता, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर पत्रकार चौधरी आधा दर्जनबढी पुरस्कार र सम्मानबाट सम्मानित भइसेका छन् । पत्रकारिता र साहित्य दुवैमा निरन्तर कलम चलाउँदै आएका चौधरीका नयाँ कृति प्रकाशोन्मुख अवस्थामा रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio