काठमाडौँ,११ साउन । जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । सनाखतका लागि निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य चौधरीले तटस्थ बस्ने निर्णय लिएका हुन् ।
आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए । तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन् ।
उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । आयोगबाट बाहिरिँदै उनले सञ्चारकर्मीहरुलाई भने,’आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो । ’
निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए । त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो । ५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् । साेही क्रममा उनी कविता मार्फत अाफना अभिव्यक्ति दिदै भने क्षेमा चाहिदैन श्रीमान मलाइ न्याय देउ ।