धनगढी,७ असाेज ।
कैलालीमा मुक्तिका लागि साझा अभियानले मानवअधिकार,सामाजिक न्याय र समानताको सवाललाई साझा अभियानका रुपमा उठान गरेर अगाडी बढ्ने निर्णय गरेको छ। मुक्तिका लागि साझा अभियानको बुधवार बसेको बैठकले अभियानले समुदायका मुद्धालाई साझा एजेण्डा बनाएर अगाडी बढ्ने निर्णय गरेको हो। मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीले अभियानको भावना मर्म बझ्ने जुनसुकै समुदायको व्यक्ति भएपनि अभियानमा सहभागी हुन पाउने बताए। यो अभियानले दलित वर्गका मुद्धा मात्र नभएर अन्य समुदायका मुद्धालाई पनि साझा एजेण्डा बनाएर अभियानका रुपमा लिने छौ, उनले भने, –‘ मुद्धाको छिनोफानो गरेरै छोड्ने छौं।’ मुक्तिका लागि साझा अभियानले सुदुरपश्चिम प्रदेशका नौ जिल्लामा संगठन विस्तार गर्ने र साझा अभियान संचालन गर्ने उनले बताए। यस्तै कांग्रेसका युवा नेता अभियानका परिकल्पनाकार अमृत विसीले यो अभियान कुनै राजनीतिक संगठनसँग आवद्ध नभएर विशुद्ध सामाजिक संगठन रहेको बताए। अभियानमा भावना मिल्ने, विचार मिल्ने समुदायका व्यक्तिहरुका लागि खुल्ला रहेको बताए। अभियानले धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा संगठन विस्तार गर्दै लैजाने उनले बताए। अभियानका सदस्यहरुले कार्यक्रममा अभियानलाई अगाडी कसरी लैजाने र दिर्घकालीन योजनाका लागि सुझाव सल्लाह दिएका थिए। कार्यक्रममा अभियानकर्मीहरुको सहभागीता रहेको थियो । मुक्तिका लागि साझा अभियानले यस अघि कोरोनाका कारणले भारतबाट आएर सीमामा अलपत्र परेकालाई क्वारेन्टिनमा ल्याएर निशुल्क खानाको समेत व्यवस्था गरेको थियो।