धनगढी, ७भादाैँ । सुदूरपश्चिम सरकारले २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको छ । २०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले २०७७ सालमा चार वटा पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए । ‘२०७७ सालका सार्वजनिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ,’ उनले भने ।
प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा भएको छ । यस्तै भदौ ७ गते पर्ने थारू समुदायको ‘अँट्वारी पर्व’, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गौरा र थारू समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन ।
संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एक/एक दिन बिदा दिने निर्णय गरको तर प्रदेशले छुट्टै बिदा दिने निर्णय भने गरेको छैन ।
थारू समुदायले माघी पर्वमा तीन र सुदूरपश्चिमका पहाडी समुदायले पनि गौरा पर्वमा तीन दिनसम्म सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।
संघीय सरकारले भने गौरा र माघीसंगै फागू पूर्णिमा, इद, छठ, क्रिसमस डे, उधौली लगायतका पर्वमा बिदा दिएको छ । त्यसैगरी दशै बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिइएको छ । रासस