सांसद रेशम चौधरी रिहा नभए प्रधानमन्त्री लगायतलाई थरुहट क्षेत्रमा प्रवेश निषेध

२५ श्रावण २०७७, आईतवार
सांसद रेशम चौधरी रिहा नभए प्रधानमन्त्री लगायतलाई थरुहट क्षेत्रमा प्रवेश निषेध

धनगढी, २६ साउन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोभिड–१९ कै बीच आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने चेतावनी दिएको छ ।
साउन २५ गतेदेखि पछिल्लो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले कोभिडकै बीचमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।
शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘कोभिडकै कारण कुनै कार्यक्रम अब रोक्दैनौं । न्यायको आन्दोलनमा कोभिड बाधक बन्दैन । हाम्रो न्यायिक आन्दोलनलाई नजरअन्दाज गरेको सरकारको लागि हामी कोठाभित्र बसिदिनुपर्ने ? अब हुँदैन । राज्यविरुद्ध असहयोग आन्दोलनलाई तीब्र पार्छौं ।’


मोर्चाले टीकापुर घटनामा मुछिएर जेल जीवन भोगिरहेका सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । मोर्चाले ३ महिनाभित्र आफ्नो जेलबन्दीलाई रिहाइ नगरिए प्रधानमन्त्री केपी शर्मा ओली र बहालवाला मन्त्रीहरूलाई थरुहट क्षेत्रमा प्रवेश निषेध गर्नुको साथै सामाजिक बहिष्कार समेत गर्ने मोर्चाका संयोजक थारुले चेतावनी दिए ।
मोर्चाले आफ्नो पछिल्लो संघर्षको कार्यक्रम अन्तर्गत साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । भदौ २ गते मानवअधिकार तथा नागरिक अगुवासँग धनगढीमा बृहत् अन्तर्क्रिरया गर्ने जनाएको छ । टीकापुर घटना भएको भदौ ७ गतेका दिनलाई टीकापुर थरुहट विद्रोह दिनको रुपमा स्मरण गर्दै देशव्यापी रुपमा विरोधसभा गर्ने भएको छ भने भदौ ८ गतेको दिनलाई टीकापुरमा भएको थारुहरूको घर, पसल, व्यावसायिक केन्द्र, सञ्चार गृहमा भएको आगजनी, तोडफोड, लुटपात भएको घटनालाई स्मरण गर्दै कालोदिनको रुपमा मनाउने जनाएको छ ।
संविधान जारीको असोज ३ गतेको दिन थरुहट मोर्चाले संविधानमा विभेदकारी व्यवस्था उल्लेख गरेको भन्दै त्यस्ता व्यवस्था उल्लेखित धाराहरू जलाउने चेतावनी समेत दिएको छ ।
थरुहट मोर्चाले १० जोड १ प्रदेश सहितको पहिचान सहितको संघीयता हुनुपर्ने माग राख्दै आएको छ । २०७२ भदौ ७ गते थरुहट आन्दोेलनकारी र प्रहरीबीच टीकापुरमा दोहोरो झडप हुँदा टीकापुर घटना घटेको हो । घटनामा १ नाबालकसहित ८ जनाको ज्यान गरेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio