अविरल वर्षापछि आएको बाढीमा बगेर कैलालीमा ३ जना बेपत्ता, सयाैँ घर डुवानमा

१४ श्रावण २०७७, बुधबार
अविरल वर्षापछि आएको बाढीमा बगेर कैलालीमा ३ जना बेपत्ता, सयाैँ घर डुवानमा

कैलाली,१४ सावन ।

अविरल वर्षापछि आएको बाढीमा बगेर कैलालीमा ३ जना बेपत्ता भएका छन् ।

कैलालीमा बाढीबाट अतिप्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटा क्षेत्रका ३ जना बगेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार भजनी नगरपालिका– ८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति र भजनी नगरपालिका–८ खैराका एक युवक बगेर बेपत्ता भएका छन् ।

घटनास्थलमा रहेका टीकापुर नगरपालिका– ९ झुंगाका स्थानीय टीकाराम चौधरीका अनुसार अर्का १ जना बेपत्ता भएका छन् ।

सुरक्षित स्थानतर्फ जाने क्रममा ४ जनामध्ये १ जना देख्दादेख्दै बगेको र बाँकी ३ जना रुखमा चढेको उनले बताए ।

भजनी नगरपालिकामा मात्रै हजारौं घर डुबानमा परेको छ । प्रभावितहरू हुलाकी राजमार्गसहित अग्लो स्थानतिर सर्ने क्रम जारी रहेको छ ।

हुलाकी राजमार्गमा ३ फिटभन्दा माथि पानी बगिररहेको बताइएको छ ।

हालसम्म उद्धार टोली नपुगेको भजनी नगरपालिका ३ कन्हैयापुरकी आरती चौधरीले बताइन् ।

आफ्नो मोटरसाइकल समेत बगेको बताउँदै उनले बिहानदेखि उद्धारको पर्खाइमा रहेपनि उद्धार टोली नआएको बताइन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै निकायलाई उद्धारमा तयार रहन निर्देशन दिएको बताए । तर, हालसम्म उद्धार टोली नपुगेको स्थानीयवासीको दुखेसो छ ।

भजनीसहित टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका लगायतका स्थानीय तह पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio