कैलारी गाउँपालिकाले छ महिनामा , ६३ वटा योजनाकाे सार्वजनिक सुनुवाई सम्पन्न

२१ माघ २०७६, मंगलवार
कैलारी गाउँपालिकाले छ महिनामा , ६३ वटा योजनाकाे सार्वजनिक सुनुवाई सम्पन्न

कैलाली, २१ माघ । कैलारी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/०७७ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना र आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा कार्यक्रम भएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत यगम कलेलले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । चालू आर्थिक वर्षको छ महिनामा गाउँपालिकाले भौतिक विकास, कृषितर्फ लगायत गरेर ६३ वटा योजना सम्पन्न गरेको उनले जानकारी दिए ।
यसैगरी, छ महिनामा न्यायिक समितिमा जम्मा २८ वटा उजुरी परेकोमा १६ वटामा सहमति भएको नौ वटा मुद्दा प्रक्रियामा रहेको र तीन वटा मुद्दामा सुनुवाइ हुन बाँकी रहेको जनाइएको छ । यस्तै, छ महिनामा १३ वटा विधेयक दर्ता भएकोमा छ वटा पास भएको र सात वटा विधेयक प्रक्रियामा रहेको सूचना अधिकारीसमेत रहेका कलेलले जानकारी दिए ।
पुस मसान्तसम्म २३ करोड २३ लाख २८ हजार रुपैयाँ निकासा भएको जनाइएको छ । जसमध्ये पाँच करोड ५९ लाख ५४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । मोहना नदी पारि रहेको र राज्यको सेवा सुविधाबाट बञ्चित हौसलपुर, शिवरत्नपुर, मोहनपुर, देवीगञ्ज र सामरचौरा गाउँका लागि विशेष कार्यक्रम सञ्चालन भएको कलेलले जानकारी दिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा डबलबहादुर अस्लामी मगर, भलमन्सा बिसराम डंगौरा, जितबहादुर चौधरी, शंकर बोहरा लगायतकाले प्रश्न गरेका थिए । सहभागीले उठाएको प्रश्नको जवाफ दिदैं गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले डीपीआर नभएका कारण कतिपय योजना कार्यान्वयन गर्न नसकेको बताए । यसैगरी, कतिपय योजनाको माग भए पनि योजना माग गरिएको ठाउँमा प्रदेश सरकारले पनि बजेटको व्यवस्था गरेकाले गाउँपालिकाले योजना सम्झौता गर्न नसकेको उल्लेख गरे । ‘दोहोरो बजेट पर्न जाने देखेर गाउँपालिकाले त्यस्तो ठाउँको योजना सम्झौता गरेन’, उनले भने । ‘प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय नगर्दा कतिपय ठाउँमा योजना दोहोरिने समस्या छ ।’
प्रदेश सरकारले मागदण्डसमेत नपु¥याएर कालोपत्रेको काम गर्न खोजेको योजनाको कामलाई गाउँपालिकाको कार्यालयले रोकेकोसमेत चौधरीले उल्लेख गरे । यसैगरी, संघीय सरकारले ऐन कानून गाउँपालिकासम्म पठाइ सकेपछि कम्तीमा १० वर्षदेखि ऐलानी जग्गामा बस्दै आएका परिवारलाई गाउँपालिकाले जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।
गाउँपालिकाले सञ्चालन गर्ने विकासको आयोजना सबैको साझा रहेकाले आवश्यक सहयोग, सल्लाह दिन पनि उनले गाउँपालिकावासीलाई आग्रह गरेका छन् । कतिपय व्यक्ति स्थानीय सरकार, प्रदेश सरकार र नेपालको संविधानलाई फेल गराउने कार्यमा निरन्तर लागिरहेको चर्चा गर्दै अध्यक्ष चौधरीले योभन्दा राम्रो अब अर्को व्यवस्था नरहेकाले कार्यान्वनमा साथ दिन सबैलाई आग्रह गरेका छन् । यसैगरी, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुले योजनाको सवालमा आम गाउँपालिकावासीको चिन्तन हुन आवश्यक रहेको बताइन् । ‘हामीले हामीलाई प्राप्त अधिकार क्षेत्रभित्र रहेर काम गरिरहेका छौं’, उनले भनिन् । ‘काम गर्ने क्रममा विभिन्न कमी कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउनका लागि सबैको सहयोग, सुझावको आवश्यकता छ ।’
टोल, गाउँबाट आएको योजनालाई गाउँपालिकाले छनोट गर्ने गरेको र त्यसमा पनि प्राथमिकीकरण गरेर काम गर्दै आएको उपाध्यक्ष सत्गौंवाको भनाइ थियो । उनले गाउँपालिकाले सञ्चालन गरेको सबै योजनाकोबारेमा गाउँपालिकावासी जानकार हुन आवश्यक रहेको औंल्याइन । ‘योजनामा सबैको अपनत्व पनि हुन आवश्यक छ’, सत्गौंवाले भनिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, वडा अध्यक्षहरु कलमप्रसाद चौधरी, कैलाश चौधरी, सन्तु चौधरी, प्रेमबहादुर चौधरी, भीखराम चौधरी, दुखीराम कठरिया, योजना प्रमुख सन्तोष चौधरीसहित गाउँसभा सदस्य र गाउँपालिकावासीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio