गत भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएको नुवाकोट-५, देवीघाटस्थित तादी खोलाको सडकमा नेपाली सेनाले ‘एक्रो ब्रिज’ (Advance Modular Panel Bridge) जडान गरी सडक सञ्चालनमा ल्याएको छ।
नेपाली सेनाद्वारा जडान गरिएको ५७.९ मिटर लामो, ५.५ मिटर चौडा र ६० टन भार वहन क्षमता भएको उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत मिलेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री ढुवानी, उद्धार तथा सवारी साधनको आवागमन सहज भएको छ।







