
राज कुमार राना
शिक्षक, कञ्चनपुर
१. परिचय :
नेपाल बहुसांस्कृतिक र बहुजातीय विशेषताले भरिपूर्ण देश हो। कैलाली र कञ्चनपुर जिल्लामा मुख्य बसोबास रहेको रानाथारू समुदायको आफ्नै विशिष्ट भाषा, पहिरन र संस्कृति छ। अन्य समुदायमा भदौ महिनामा मनाइने तीजभन्दा रानाथारू समुदायको तीज मनाउने शैली, तिथि र सांस्कृतिक मान्यता सर्वथा भिन्न र मौलिक छ। रानाथारू समुदायमा तीज केवल एउटा धार्मिक अनुष्ठान मात्र नभएर सामाजिक भाइचारा, एकता र समृद्धिको उत्सव पनि हो।
रानाथारू समुदायको ठुला पर्वहरूमध्ये दोस्रो ठुलो पर्व तीज पर्व श्रावण शुक्ल पक्षको तृतीया तिथिमा पर्दछ। तीज रानाथारू महिलाहरूको सबैभन्दा मुख्य चाडका रूपमा लिइन्छ। यस पर्वलाई “तिजिया गुडिया” पनि भनिन्छ। रानाथारू महिलाहरू आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायु, समृद्धि, उन्नति र प्रगतिका लागि निराहार व्रत बसी हर्षोल्लासका साथ यो पर्व मनाउने गर्दछन्।
२. पौराणिक मान्यता :
रानाथारू समुदायमा तीज पर्व साउन महिनाको शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ। यस पर्वको सम्बन्ध पौराणिक कथासँग जोडिएको छ।
* राजा सुकदेव र राजकुमारीको कथा :
पौराणिक मान्यता अनुसार राजा सुकदेवकी छोरीले आफ्ना भाइहरूको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै कठोर व्रत बसेकी थिइन्। सोही परम्परालाई पछ्याउँदै रानाथारू महिलाहरूले अनादिकालदेखि नै यो पर्व मनाउँदै आएको मानिन्छ।
* भाइ-बहिनीको पवित्र प्रेम :
अन्य संस्कृतिमा तीज मुख्यतः पति वा हुनेवाला पतिको दीर्घायुका लागि मनाउने गरिएतापनि रानाथारू समुदायमा भने यो पर्व भाइ-बहिनी, फुपू-भतिजा बीचको अगाध प्रेम र संरक्षणको कामनामा केन्द्रित हुन्छ।
३. तीज मनाउने विधि र सांस्कृतिक प्रक्रिया :
यो चाड मनाउनका लागि रानाथारू महिला दिदीबहिनीहरूलाई माइतघरका दाजुभाइ, भतिजाहरू लिन आउँछन्। यस चाडमा बुढेसकालमै भएपनि महिलाहरू सकेसम्म आफ्नो माइतघरमा तीज मनाउन आउने गर्छन्।
साउन महिनामा दाजुभाइको सहयोगमा सामनको डोला (पिङ) बनाई महिनाभरि गाउँका महिला, युवायुवती एवं बालबालिकाहरू सामनको डोलाको गीत गाउँदै पिङ खेल्दै रमाउने चलन छ। सामनको डोला बनाउनका लागि गाउँका युवायुवतीहरू सामूहिक रूपमा जंगलमा गई बैब (बाबियो) पत्ता (मालुबेला) काटेर ल्याई बनाएको डोरी सामनको डोलामा प्रयोग गर्छन्। जहाँसम्म सबैको पायक पर्ने ठाउँमा सामनको डोला स्थापना गरिन्छ।
बेलुकाको खानापछि महिला, युवायुवतीहरू, केटाकेटीहरू जम्मा भई पिङ खेल्दै तीजका गीतहरू गाउँदै रमाउँछन्। यस चाडमा महिलाहरू दिनभरि व्रत बसी साँझ सूर्य अस्ताउनुभन्दा पहिला नदी, तालको किनारमा गई उरैला / गडरौधा प्रजातिको घाँसमा गाँठो (झुड्की) बाँध्छन् र पकाएका विभिन्न परिकारहरू (पुरि, गुल्गुला, सिमही, पकौडी, कतरा, पपरा आदि) ले पुजा गर्दछन्।
विवाहित महिलाले घाँसका सात झुड्की र अविवाहित महिलाले पाँच झुड्की बाँधी चाँदीको पैसा वा चाँदीका कुनै अन्य सामग्रीको प्रयोग गरेर घाँसबाट झुड्की काटिन्छ। उक्त झुड्की नदीको मुल प्रवाहमा गई बगाइन्छ।
झुड्की बगाउँदा व्रतालु महिलाहरूले आ-आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्ने परम्परा रहेको छ। यसका साथै पिङमा प्रयोग गरिएको डोरीको मुन्टा काटेर झुड्की सँगसँगै नदीमा बगाउने चलन रहेको छ।
नदीमा झुड्की बगाउँदा “जसरी नदीको धार बढ्छ, त्यसै गरी मेरा भाइ भतिजाहरूको उमेर बढोस्” भनि कामना गर्ने प्रचलन रहेको छ। साथै उनीहरूको उन्नति, प्रगति, समृद्धि र विकास होस् भनी मनोकामना गर्छन्।
नदीबाट बाहिर आएर आफूले चढाएका पकवान प्रसादका रूपमा त्यहीँ ग्रहण गरी घर फर्किन्छन्। व्रतालुहरू घर फर्कँदा युवाहरू (पटाकि) हरियो बाबियोको डोरीले बाटो छेक्छन् र व्रतालुहरूले युवाहरूलाई पकवान दिई बाटो खुलाई घर फर्किन्छन्।
पूजा पश्चात् सामूहिक रूपमा काठ र बाबियोको डोरीले बनाइएको परम्परागत पिङ (डोला) खेल्दै रमाउने गर्दछन्। यस अवसरमा रानाथारू पहिरन (अँगिया, उनिया, घाँघरया) मा सजिएका महिला दिदी-बहिनीहरूले आफ्ना सुख-दुःख र इतिहास झल्किने परम्परागत गीतहरू गाउँछन्। राना समुदायका महिलाहरूले परम्परागत रूपमा मनाउँदै आएको तीज पर्वको आफ्नै मौलिकता रहिआएको छ।
यहाँ सामनको डोला (पिङ) खेल्ने बेलाको गीतको केही अंश प्रस्तुत गरिएको छ। यो गीतमा सामनको डोला बनाउन कुन बनको खम्बा र डाँडी ल्याउने? केले र कसरी काटेर ल्याउने? र के-केले पुजा गर्ने? जस्ता प्रश्न र त्यस प्रकारका प्रश्नको उत्तर झल्किने भाव देखिन्छ।
सामनको डोला (पिङ) खेल्दा गाइने तीजको गीत:
”कौन हो वन की, लाल सी डाँडी रे,
कौन हो वन के, चारौँ खम्बा हो।
कजरी वन की, लाल सी डाँडी रे,
वृन्दावन के, चारौँ खम्बा हो।
काहेले काटौँ लाल सी डाँडी रे,
काहेले काटौँ चारौँ खम्बा हो।
टकुलाले काटौँ लाल सी डाँडी रे,
बसुलाले काटौँ चारौँ खम्बा हो।
काहेले पुजौँ लाल सी डाँडी रे,
काहेले पुजौँ चारौँ खम्बा हो।
लौंगरे पुजौँ लाल सी डाँडी रे,
घ्यु से पुजौँ चारौँ खम्बा हो।”
— (रामबेटी राना)
४. सामाजिक एकता र समृद्धिको सन्देश :
रानाथारू तीज पर्वले समाजलाई जोड्ने मजबुत सेतुको काम गर्दछ। सामाजिक सद्भाव र एकताका साथ सिङ्गो गाउँ नै एकजुट हुन्छ। सामूहिक रूपमा सामनको डोला (पिङ) हाल्नु, पूजा गर्नु, सामूहिक भोजभतेर, आदानप्रदान गर्नुले सामाजिक एकता र भाइचारालाई मजबुत बनाउँछ।
टाढा-टाढा विवाह भई गएका चेलिबेटीहरू माइत आउने र परिवारसँग खुसी साटासाट गर्ने भएकाले यसले पारिवारिक सम्बन्धलाई सुमधुर बनाउँछ। रानाथारू महिलाहरूका हातले बुनिएका गहना, मौलिक पोसाक र परम्परागत लोकगीतहरूले रानाथारू संस्कृतिको समृद्धिलाई उजागर गर्दछन्।
५. समसामयिक सन्दर्भ र संरक्षणको आवश्यकता :
आधुनिकताको बढ्दो प्रभावका कारण नयाँ पुस्तामा आफ्ना मौलिक परम्पराहरूप्रतिको चासो केही घटेको पाइन्छ। पश्चिमा संस्कृति र आधुनिक प्रविधिको विस्तारले गर्दा परम्परागत गीत, नाच र पूजाका विधिहरूमा क्रमिक परिवर्तन देखिन थालेको छ।
तथापि, पछिल्लो समय स्थानीय तह, नेपाल रानाथारू समाज र स्थानीय युवा क्लबका माध्यमबाट रानाथारू तीज पर्वलाई सांस्कृतिक पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयासहरू भइरहेका छन्।
६. निष्कर्ष :
रानाथारू समुदायको तीज पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप धनी बनाएको छ। भाइ-बहिनी, फुपू-भतिजाको सम्बन्धलाई पवित्र बनाउने, सामाजिक एकता कायम राख्ने र मौलिक संस्कृतिलाई निरन्तरता दिने यो पर्व साँचिकै समृद्धिको प्रतीक हो।
यसको ऐतिहासिक एवं सांस्कृतिक मौलिकतालाई जोगाउन स्थानीय र राष्ट्रिय स्तरबाटै थप अध्ययन, अनुसन्धान र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नु आजको आवश्यकता हो।
अन्त्यमा, सम्पूर्ण जन-जनमा रानाथारू तीजपर्वको हार्दिक, हार्दिक शुभकामना व्यक्त गर्दछु।
राम ! राम ! धन्यवाद !







