नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। WAHF नेपालको प्राविधिक सहयोग तथा लालझाडी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा विशेषगरी पायल्स, फिसर र फिस्टुलासम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो। स्वास्थ्य समस्या भएका स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ।
शिविरमा कुल ११२ जनाले स्वास्थ्य परीक्षणका लागि दर्ता गराएका थिए। परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीमध्ये २३ जनाको शल्यक्रिया (अपरेशन) समेत गरिएको र शल्यक्रियापछि उनीहरूलाई आवश्यक स्वास्थ्य परामर्श दिएर घर पठाइएको दोदा साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष गोमती रानाले जानकारी दिनुभयो।
शिविरमा कन्सल्टेन्ट डाक्टर रञ्जित पर्सौलाको नेतृत्वमा १४ जनाको स्वास्थ्यकर्मी टोली खटिएको थियो। टोलीले बिरामीको स्वास्थ्य जाँच, आवश्यक परामर्श तथा उपचारसम्बन्धी सेवा निःशुल्क रूपमा प्रदान गरेको थियो।
ग्रामीण क्षेत्रमा पायल्स, फिसर तथा फिस्टुलाजस्ता स्वास्थ्य समस्याबाट प्रभावित नागरिकले आर्थिक तथा भौगोलिक कारणले समयमै विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेको भन्दै सहकारी संस्थाले स्थानीयस्तरमै स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ। शिविरबाट स्थानीय नागरिकलाई रोगको पहिचान, उपचार तथा स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श लिन सहज भएको छ।
स्वास्थ्य शिविरमा ११२ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक देखिएका २३ जनाको शल्यक्रिया समेत गरिएपछि स्थानीयवासीले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन्। सहकारी संस्था, WAHF नेपाल र लालझाडी गाउँपालिकाबीचको सहकार्यमा सञ्चालन गरिएको शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
आगामी दिनमा पनि स्थानीय नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।







