नरेश राना / लालझाडी 

कञ्चनपुरको लालझाडी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको तेस्रो बैठक तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। एक्सेस परियोजना अन्तर्गत मंगलबार आयोजित कार्यक्रममा गुणस्तरीय शिक्षा र विद्यालय छोड्ने दर घटाउनमा समन्वय र सहकार्य गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बालिका तथा समावेशी शिक्षा सञ्जाललाई अझ सक्रिय बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रभावकारी रूपमा काम गर्ने बताए।

गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले शिक्षा क्षेत्रमा पालिकाले विभिन्न काम गरिरहेको बताउँदै अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन पालिकाले निरन्तर पहल गरिरहेको जानकारी दिइन्।

कार्यक्रमको प्रस्तुतीकरण तथा सहजीकरण शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले गरेका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भन्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने बताए।

स्वतन्त्र माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ भट्टले विद्यालयमा भर्ना भएका विद्यार्थीसमेत बीचमै विद्यालय छोड्ने, सानै उमेरमा विवाह गर्ने तथा अभिभावकसँगै भारततर्फ जाने समस्या रहेको बताए। घरदैलो कार्यक्रम पटक–पटक सञ्चालन गर्दा पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको भन्दै यसको समाधानका लागि सबै पक्षबाट पहल आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी प्रतिनिधि अनिता ढुङ्गानाले हालसम्म पालिकामा भएका काम तथा सिकाइका विषयमा प्रस्तुतीकरण गरेकी थिइन्। कार्यक्रममा पिपुल इन नीडका प्रदेश संयोजक पशुपति चौधरी, एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला परियोजना संयोजक गंगा भण्डारी, एकाउन्टेबिलिटी ल्याब नेपालका सुनिता बिक, नेपाल अपाङ्ग महिला सङ्घका प्रतिनिधि अनिता ढुङ्गाना, स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनार, विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, जनप्रतिनिधि, बाल क्लब, विद्यार्थी, प्रहरी प्रशासन र पत्रकारलगायतको उपस्थिति रहेको थियो।

परियोजना सल्लाहकार समितिको बैठक तथा विद्यालय अनुगमन

यसैगरी लालझाडी गाउँपालिकामा परियोजना सल्लाहकार समितिको बैठकसँगै दुईवटा विद्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा रामेश्वर माध्यमिक विद्यालय र स्वतन्त्र माध्यमिक विद्यालयमा पुगेर विद्यालयको अवस्था तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीका विषयमा जानकारी लिइएको थियो।

अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुख, वडाध्यक्ष, शिक्षक–अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पिपुल इन नीडका प्रदेश संयोजक, एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला परियोजना संयोजक, स्वीट नेपालका कार्यक्रम संयोजक तथा नेपाल अपाङ्ग महिला सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

कार्यक्रम एक्सेस परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड नेपालको प्राविधिक सहयोग तथा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ। हाल स्वीट नेपालले पनि परियोजना अन्तर्गतका गतिविधिमा सहकार्य गर्दै आएको छ।

सेयर कर दियो ।