कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गर्ने बताएका छन् ।

नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने र क्षतिपूर्तिको एकिन विवरण आएपछि त्यसको व्यवस्थापनमा समेत सरकार गम्भीर रहने उनले बताए ।

मुख्यमन्त्री शाहले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीका लागि प्रहरी प्रशासनले सक्रियता बढाएको जानकारी दिँदै अवरुद्ध कर्णाली कोरिडोर तत्काल सुचारु गर्न स्थानीयवासीलाई आग्रह गरे ।

जेठ २ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौरमा अस्थायी प्रहरी चौकी निर्माणका क्रममा हुम्लाका स्थानीयले अवरोध गर्दा झडप भएको थियो । उक्त झडपमा हुम्लाका स्थानीयको कुटपिटबाट बाजुराका ६ जना घाइते भएका थिए ।

घटनापछि हिमाली युवा क्लबले पालिकाको केन्द्र धुलाचौरमा कर्णाली कोरिडोर अवरुद्ध गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा सर्वपक्षीय छलफल भई सडक सुचारु गरिएको थियो । छलफलपछि छानबिन गर्ने, लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउने, घाइतेहरूको उपचार सुनिश्चित गर्ने र लामपाटाबाट विस्थापित स्थानीयको सुरक्षाको प्रत्याभूति गराउनेलगायत ६ बुँदे सहमति भएको थियो ।

तर सहमति अनुसार मागहरू सम्बोधन नभएको भन्दै स्थानीयवासी र युवाहरूले कर्णाली कोरिडोर पुनः अवरुद्ध गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा उक्त क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले हिमाली गाउँपालिकामार्फत वित्तीय हस्तान्तरण गरी निर्माण कार्य अघि बढाएको जनाएको छ । मुख्यमन्त्री शाहले उक्त क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।