दिनेश राना/कैलाली: नेपाल रानाथारु समाजको केन्द्रीय समितिभित्र देखिएको विवाद समाधान भएको छ । धनगढीको सोराई ब्याङ्केटमा गत २०८१ असोज २४ गते सम्पन्न सातौँ महाधिवेशनका क्रममा नेतृत्व चयन र साङ्गठनिक विषयलाई लिएर उत्पन्न विवाद आपसी समझदारीमा टुङ्गिएको हो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीलाई सम्बोधन गरिएको एक पत्रका अनुसार, समाजको सामाजिक, भाषिक, शैक्षिक र सांस्कृतिक विकासका मुद्दाहरूलाई एकीकृत रूपमा अगाडि बढाउन नेतृत्व तहबीच सहमति भएको छ । रानाथारु समुदायको बृहत्तर एकतालाई मध्यनजर गर्दै आगामी दिनमा समुदायलाई सशक्त ढङ्गले अगाडि लैजाने प्रतिबद्धता जनाइएको छ ।
आपसी छलफल र सहमति पश्चात् श्री कमल सिंह रानाको अध्यक्षतामा संस्थाका गतिविधिहरूलाई अगाडि बढाउने निर्णय गरिएको छ । सातौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रवि रानाले हस्ताक्षर गरेको उक्त पत्रमा समुदायको एकता कायम राख्न र नेतृत्वको विवाद टुङ्ग्याउन यो पहल गरिएको उल्लेख छ ।
यस सहमतिसँगै रानाथारु समुदायमा नयाँ उत्साह थपिएको छ र संस्थाले आफ्ना अधुरा कामहरूलाई गति दिने विश्वास लिइएको छ ।







