काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन्। विगतका वर्षमा बर्खायाममा आउने बाढीका कारण नदी किनारका बासिन्दाले भोग्नुपरेको सास्ती र जीवनको जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चाल्न लागेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, “हरेक वर्ष बाढीका कारण ज्यान जोगाउनुपर्ने नियतिलाई अब सधैँका लागि अन्त्य गर्नुपर्छ । नागरिकको सुरक्षित बसोबास उहाँहरूको अधिकार हो, त्यसैले जोखिमयुक्त ठाउँबाट हटाएर सुरक्षित ठाउँमा व्यवस्थापन गर्नु सरकारको दायित्व हो ।” उहाँले नदी किनारका बस्तीका कारण उपत्यकाको ढल निकास प्रणालीमा अवरोध पुगेको र नदी दुर्गन्धित भएको उल्लेख गर्दै स्थानान्तरणपछि काठमाडौँको वातावरणमा समेत सुधार आउने विश्वास व्यक्त गरेका छन्।

थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीलाई बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने उनकाे भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रको वाचा, पार्टीको प्रतिबद्धता र सरकारको ‘सय काम’ को सूचीमा समेत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गाको संरक्षण प्राथमिकतामा रहेको उनले स्मरण गराएका छन्।

प्रधानमन्त्री शाहले सुकुम्बासी र अतिक्रमणकारीलाई स्पष्ट रूपमा छुट्याइने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “हामी अतिक्रमणकारी र वास्तविक सुकुम्बासीको पहिचान गर्नेछौँ । देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पुरा गरेर यथाशक्य चाँडो जग्गा वितरण गरिनेछ । वर्षौँदेखि बल्झिरहेको यो समस्याको स्थायी समाधान गर्न सरकार दृढ छ ।”

सुरक्षित व्यवस्थापनको काम आन्तरिक तयारीमा रहेको उल्लेख गर्दै उनले वास्तविक पीडितहरूलाई सरकारको प्रक्रियामा ढुक्क हुन आग्रह गरेका छन्।