दिनेश राना/धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा एक वृद्धको शंकास्पद मृत्यु भएको छ । आफ्नै घरमा पालेको कुकुरलाई अर्को कुकुरले टोकेर मारेको निहुँमा सुरु भएको विवादले ५६ वर्षीय पतिराम चौधरीको ज्यान लिएको हो । मृतकका परिवारले छिमेकी महेश श्रेष्ठमाथि कुटपिट गरी हत्या गरेको गम्भीर आरोप लगाएका छन् ।

घटना बैशाख २ गते रातिको हो । स्थानीयका अनुसार चौधरीको घरमा बस्ने एउटा रातो कुकुरले छिमेकी महेश श्रेष्ठको कुकुरलाई टोकेर मारेको दाबी गर्दै श्रेष्ठ आक्रोशित थिए । मृतककी श्रीमती रुपा चौधरीका अनुसार श्रेष्ठ राति ९:३० बजे पहिलो पटक “खुनको बदला खुन लिन्छु” भन्दै धम्काउन आएका थिए । तर, सो समयमा पतिराम नगएपछि श्रेष्ठ पुनः ११ बजे “मरेको कुकुर हेर्न जाऔँ” भन्दै फकाएर आफ्नो घरमा लगेका थिए ।

पतिराम श्रेष्ठको घर गएको आधा घण्टासम्म नफर्किएपछि परिवार खोज्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए । मृतककी छोरी रक्षा चौधरीले भनिन्, “हामी श्रेष्ठको घर पुग्दा बुबा सिँढीमुनि बेहोस हुनुहुन्थ्यो, शरीरमा चोटपटक थियो । श्रेष्ठ र उनकी आमाले बुबाको शरीरमा बरफ र पानी हाल्दै हुनुहुन्थ्यो ।” परिवारले घटनालाई योजनाबद्ध हत्याको संज्ञा दिएको छ । उनीहरूका अनुसार अस्पताल पुर्‍याउनुअघि नै पतिरामको मृत्यु भइसकेको थियो । सेती प्रादेशिक अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यता, आरोपित महेश श्रेष्ठको परिवारले भने हत्याको आरोप अस्वीकार गरेको छ । महेशकी आमा सुमित्रा श्रेष्ठ र भाउजू ज्ञानु श्रेष्ठका अनुसार पतिराम मरेको कुकुर हेर्न छतमा गएका थिए र फर्किने क्रममा खुट्टा चिप्लिएर सिँढीबाट लडेका थिए । लडेर बेहोस भएपछि होसमा ल्याउन मात्र पानी र बरफ प्रयोग गरिएको उनीहरूको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आरोपित महेश श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले घटनाको बारेमा सोधपुछ भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप तथ्य खुल्ने जानकारी दिए । मृतकका परिवारले भने श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।

स्थानीयका अनुसार मृतक पतिराम चौधरी पेन्टरको काम गर्थे र अत्यन्तै सोझो स्वभावका थिए। उनी सधैँ विवादबाट टाढा रहन्थे । उनको असामयिक मृत्युले मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार अहिले बिचल्लीमा परेको छ ।