नरेश राना / कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. १० मा सामुदायिकमा आधारित वन व्यवस्थापन समूहहरूका लागि कार्बन लाभ बाँडफाँड तथा लगानीसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कुण्डा सब–डिभिजन वन कार्यालयको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम RRN र DGM संस्थाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ, सुदूरपश्चिमाञ्चल प्रदेश समन्वय परिषद्को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा सामुदायिक वन व्यवस्थापन, वन संरक्षण तथा कार्बन लाभबाट प्राप्त हुने आम्दानीको बाँडफाँड र त्यसलाई समुदायको हितमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै, सामुदायिक वनको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागिताको महत्वबारे समेत प्रशिक्षण दिइएको थियो।
प्रशिक्षण कार्यक्रममा दल बहादुर धर्ती मगर र बन्धन पहरी प्रशिक्षकका रूपमा रहनुभएको थियो। उहाँहरूले कार्बन लाभ, यसको बाँडफाँड तथा लगानीका विभिन्न पक्षबारे सहभागीहरूलाई सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा रेन्जर मिथुन चौधरी, वनरक्षक साहुकार राना र आक्कल तामाङ लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई सामुदायिक वनको वर्तमान अवस्था, वन संरक्षण तथा दिगो व्यवस्थापन, वनबाट प्राप्त हुने लाभको न्यायोचित वितरण तथा समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्राप्त लाभलाई सही क्षेत्रमा लगानी गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।
सामुदायिक वन स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा संरक्षण र व्यवस्थापन हुँदै आएको उल्लेख गर्दै वनबाट प्राप्त हुने लाभलाई पारदर्शी तथा प्रभावकारी रूपमा समुदायमा पुर्याउनुपर्नेमा प्रशिक्षणमा जोड दिइएको थियो।
कार्यक्रमले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरूलाई कार्बन लाभसम्बन्धी विषयमा थप जानकारी प्राप्त गर्न सहयोग पुग्नुका साथै वन संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासमा वन क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







