पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतले तीव्रता पाएको छ। सडकका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्याएपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभाग, निर्माण व्यवसायी, नेपाली सेना तथा अन्य जनशक्ति परिचालन गरिएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछिको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध बनेको थियो। तीमध्ये १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएको तथा भत्काएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडकमा आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भइरहेको छ।
वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्मको सडक दुई दिनमै मर्मत गरिएको शर्माले बताए। त्यसैगरी मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडक पनि सोमबार साँझसम्म मर्मत सकिएको उनले जानकारी दिए ।
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको यो क्षेत्र मर्मतका लागि चुनौतीपूर्ण बनेको थियो। सुरुमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान भएको सडकको विकल्पमा नयाँ मार्ग बनाउनुपर्ने अवस्था आएको थियो। त्यससँगै मर्मतका लागि आवश्यक इन्धनको अभावसमेत चुनौती बनेको थियो।
राहुघाटको विद्युत्गृह अगाडिको सडक खुलाउने काम पूरा भइसकेको छ। नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा ढुवानी र सापटीमार्फत इन्धन व्यवस्थापन गरिएपछि सडक मर्मतमा सहजता आएको आयोजनाले जनाएको छ।
कुनौटाभन्दा माथिल्लो क्षेत्रमा मर्मतका लागि आवश्यक इन्धन स्थलमार्गबाट मानिसले बोकेर लैजान सम्भव नभएपछि नेपाली सेना र ड्रोनको सहयोग लिइएको सडक योजना प्रमुख शर्माले बताउनुभयो। उनका अनुसार ड्रोनबाट छ पटक उडान गरी ४०० लिटर डिजेल कटान भएको क्षेत्र पार गराएर माथिल्लो भागमा पुर्याइएको थियो। इन्धन पुगेपछि कुनौटाभन्दा माथिल्लो क्षेत्रमा समेत सडक मर्मतलाई गति दिन सहज भएको छ।
अन्नपूर्ण गाउँपालिकातर्फ पोखरेबगर र रातोपानीमा सडकको नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। महभिर र भिरकाटे खण्डमा पनि मर्मत जारी छ। अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएको ठाउँमा नयाँ ट्रयाक खोलिएको छ। पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ।
सडक मर्मतलाई तीव्रता दिन सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित आवश्यक जनशक्ति परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।
उहाँका अनुसार सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा समानान्तर रूपमा काम गरिरहेका छन्। यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि अहिले कोरला नाका थप महत्वपूर्ण बनेको सुवेदीको भनाइ छ। त्यसैले कोरला नाका जोड्ने सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।
यता, मुस्ताङमा स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिँदै गएको छ। पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ। सडक सञ्चालनमा आएपछि मुस्ताङको कृषि उत्पादनको बजार पहुँच, चाडपर्वका लागि आवश्यक वस्तुको आवतजावत तथा पर्यटन गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ।






