दिनेश राना/धनगढी – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई ज्यान सम्बन्धी गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी मार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ता भएको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो ।

२०८२ साल वैशाख ९ गते बिहान बेलौरी नगरपालिका-१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिक स्थानीय किसान हरकिशन रानाको शव बीभत्स अवस्थामा फेला परेको थियो । मृतकको शरीर र उनले प्रयोग गरेको मोटरसाइकल समेत जलेको अवस्थामा भेटिएको थियो। सुरुमा दुर्घटना जस्तो देखिए पनि मृतकका परिवारले यो सुनियोजित र योजनाबद्ध हत्या भएको दाबी गर्दै आएका थिए ।

मृतककी पत्नी फिरिया देवी रानाले दिएको जाहेरी अनुसार, यो घटनाको मुख्य जड कृषि अनुदान र आर्थिक लेनदेन रहेको खुलेको छ । जाहेरीमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

अनुदानको प्रलोभन: ४० लाख रुपैयाँको कृषि अनुदान दिलाउने बहानामा मृतक रानालाई करिब ४७-४८ लाख रुपैयाँ खर्च गराइएको ।

कमिसन र धम्की: अनुदान प्रक्रियापछि उपाध्यक्ष नाथले १२ लाख रुपैयाँको चेक र थप ४ लाख नगद माग गरेको दाबी गरिएको छ ।

ज्यान मार्ने चेतावनी: माग गरिएको रकम दिन नसक्दा उपाध्यक्ष नाथले रानालाई बारम्बार मानसिक दबाब दिने र ज्यान मार्ने धम्की दिने गरेको जाहेरीमा उल्लेख छ ।

पीडित परिवारले जाहेरीसँगै घटनास्थलको सर्जमिन मुचुल्का, सेती प्रादेशिक अस्पतालको शव परीक्षण (Post-mortem) रिपोर्ट र अन्य प्राविधिक प्रमाणहरू प्रहरीलाई बुझाएका छन् । प्रहरीले सोही प्रमाण र अदालतको अनुमतिपछि नाथलाई हिरासतमा लिएको हो ।

यसैबीच, नेपाल रानाथारु समाजले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ । समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

स्थानीयहरूका अनुसार उपाध्यक्ष नाथ यसअघि पनि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण चर्चामा आइरहने पात्र हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपाध्यक्ष नाथलाई हिरासतमा राखी ज्यान मार्ने उद्योग वा हत्याको षड्यन्त्र अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंकामा ‘चेक’ प्रकरणसँग जोडिएका अन्य पक्षहरूमाथि पनि सूक्ष्म निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ ।