कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना नाघेकाे छ। कार्तिक महिनाको ८ गते राति घटना घटेकोमा शनिवार १ महिना पूरा आजबाट दाेस्राे महिना लागेकाे छ ।
दाेस्राे महिना प्रवेश गर्दा पनि सो घटनाको प्रहरी अनुसन्धान भने निष्कर्षमा पुग्न सकेको छैन। प्रहरीले निरन्तर अनुसन्धान थालिरहेको भएपनि कुनै निष्कर्ष नआएको हो।
प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको जनाएको छ। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ। सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको बताईएको छ। जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्।
त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान गर्दै आएका छन्।
अहिले पनि त्यहाँको इलाका प्रहरी कार्यालयसहितको टोली रातदिन अनुसन्धानमै खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानमा केही ढिलाई भएपनि सत्यतथ्य बाहिर आउने छ।
गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही घटनामा अहिले प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले अहिलेसम्म सूचना संकलन, सोधपुछ लगायतको अनुसन्धान जारी राखेको छ। प्रहरीले अहिलेसम्म २ सय बढी मानिससँग सोधपुछ गरिसकेको जनाएको छ।
मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए।
हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो। तर, घटनाको रहस्य अझै गर्भमै रहेकोले प्रहरीलाई अनुसन्धानले जटिलता प्रदान गरेको छ।
स्रोतका अनुसार बडायक दम्पतीका विषयमा परिवारका सदस्य र आफन्त जानकार नहुँदा घटनाको अनुसन्धानमा समस्या भइरहेको हो। यद्यपि प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान जारी राखेको बताएको छ।