कञ्चनपुर । पछिल्लो डेढ महिनायता जङ्गली हात्तीको बथान कञ्चनपुरको लालझाडीमा मानव बस्तीहरूमा दिउँसो घुमिरहेका छन् ।
अहिले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ र लालझाडी गाउँपालिकाका विभिन्न वडाहरूमा जङ्गली हात्तीको बथानले करिब डेढ महिनादेखि मानवीय, भौतिक, कृषि र पशुको क्षति गरिरहेका छन् ।
असोज १३ गते राति हात्तीको आक्रमणबाट लालझाडी ४ का ५० वर्षीय रामदल रानाको मृत्यु भएको थियो भने असोज २२ गते राति बेलौरी ६ का २२ वर्षीय उमेश चौधरीको पनि हात्तीकै आक्रमणबाट ज्यान गयो ।
जङ्गल छेउका मानव बस्तीहरूमा जङ्गली हात्तीको ठूलो बथानले बालीनाली नोक्सान गर्ने, घरहरू भत्काउने जस्ता उपद्रव गतिविधि गरिरहेको पाइन्छ । बेलौरी–कलुवापुर सडकखण्ड लगायत जङ्गल आसपासका बस्तीमा जाने सडकखण्डमा ओहोरदोहोर गर्दा समेत त्रसित हुनु परेको यात्रुहरूको भनाइ छ ।
उक्त स्थानका बासिन्दामा त्रास बढेको छ भने हात्ती बस्तीमा पसेमा भगाउनका लागि रातभर जाग्राम समेत बस्नु परेको लालझाडी ३र ४ का स्थानीय बासिन्दाको भनाइ छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आफ्नो श्रोत-साधन र बलबुताले भ्याएसम्म हात्तीलाई उनीहरूकै वासस्थानतर्फ फर्काउने प्रयास गरिरहे पनि सफल नभएको भन्दै सरोकारवालाहरूसँग सहयोगको अपिल गर्नु भएको छ । मानव बस्तीमा पसेका हात्तीहरूलाई घरसम्म पुग्न नदिन ठूलो आवाज आउने हर्न बजाउने, ट्र्याक्टर, लगायतका साधन चलाउने, सिट्ठी बजाउने, पटाका पड्काउने, होहल्ला गर्ने लगायतका गतिविधि गरे पनि हात्तीलाई उनीहरूको वासस्थानमा फर्काउन भने सकिएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तिनै तहका सरकार र सरोकारवाला निकाय समयमै गम्भीर नहुने हो भने मानव–वन्यजन्तुबीचको द्वन्द्व थप बढ्ने देखिन्छ । यसका साथै उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने र बसोबास गर्ने सबैले सावधानी अपनाउन पनि जरुरी छ ।