संपादक, नन्दलाल राना

साउनको हरियालीले गाउँलाई ढाक्न थालेको थियो। आकाशमा कालो बादल मडारिन्थे, खेतबारीमा रोपाइँ सकिएर किसानहरू केही फुर्सदिला देखिन्थे। राना थारू बस्तीहरूमा भने साउनको आगमनसँगै अर्को विशेष रौनक सुरु भइसकेको थियो। गाउँका चौतारी र खुला मैदानमा ठूला–ठूला काठका डोला (पिङ्ग) ठडिन थालेका थिए।

बिहानैदेखि दाजुभाइ, दिदीबहिनी र गाउँका युवाहरू जंगलतिर लाग्थे। कसैले काठ काट्थे, कसैले डोरी बुन्थे, कसैले डोला बाँध्थे। सबैको एउटै उद्देश्य हुन्थ्यो—तिज पर्वका लागि बलियो र सुन्दर डोला तयार गर्नु।

केही दिनमै माइती फर्केका विवाहित छोरीहरूले गाउँलाई अझ रमाइलो बनाइदिन्थे। परम्परागत राना थारू पोशाक, चाँदीका गहना र निधारभरि सिँदूर सजिएका महिलाहरू डोलामा बसेर सामनका मधुरा गीत गाउँथे। डोला जति माथि पुग्थ्यो, गीतको स्वर त्यति नै टाढासम्म फैलिन्थ्यो। हाँसो, गीत र रमाइलोले गाउँभरि तिजको उत्सव छाएको अनुभूति हुन्थ्यो।

राना थारू समुदायमा सामन अर्थात् तीज केवल एक दिनको पर्व होइन। यो करिब १५ दिन (सावन कृष्णपक्ष)सम्म मनाइने सांस्कृतिक उत्सव हो। यस अवधिभर डोला खेल्ने, गीत गाउने, आफन्त भेट्ने र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने परम्परा रहिआएको छ। विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई बलियो बनाउने पर्वका रूपमा यसलाई अत्यन्त सम्मानका साथ हेरिन्छ।

साउने शुक्ल तृतीयाको दिन भने सबैभन्दा महत्वपूर्ण मानिन्छ। त्यस दिन महिलाहरू निराहार व्रत बस्छन्। उनीहरूको कामना श्रीमानका लागि होइन, आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायु, सुख, समृद्धि, स्वास्थ्य र जीवनरक्षाका लागि हुन्छ। दिनभर व्रत बसेपछि उनीहरूले सिमही, गुलगुला, पुरीलगायतका परम्परागत परिकार खाएर व्रत समापन गर्ने तयारी गर्छन्।

साँझ पर्न थालेपछि व्रतालु महिलाहरू नदी किनारतिर लाग्छन्। उनीहरूको हातमा गडरौराको घाँस वा कुश हुन्छ। विवाहित महिलाले सात गाँठो र अविवाहितले पाँच गाँठो बाँध्छन्। प्रत्येक गाँठोसँग उनीहरूले आफ्ना दाजुभाइ र भतिजाहरूको नाम सम्झेर दीर्घायुको कामना गर्छन्।

पूजा सम्पन्न भएपछि एउटा रोचक परम्परा सुरु हुन्छ। महिलाहरूले चाँदीको गहना वा सिक्काले ती गाँठो काट्छन् र नदीमा अग्रासन दिन्छन्। नदीको बहावसँगै गाँठो बग्दै जाँदा उनीहरूको मनमा एउटै प्रार्थना गुञ्जिरहेको हुन्छ—

जसरी नदीको बहाव बढ्दै जान्छ, त्यसरी नै मेरा दाजुभाइ र भतिजाहरूको आयु, उन्नति र समृद्धि बढ्दै जाओस्।”

नदीले त्यो कामना बगाएर प्रकृतिसँग साक्षी बसिदिन्छ।

अग्रासन दिएपछि महिलाहरूले आफूसँग लगेको प्रसाद ग्रहण गरेर व्रत खोल्छन्। तर पर्वको रमाइलो यतिमै सकिँदैन। घर फर्कने बाटोमा दाजुभाइ र भतिजाहरूले बाटो छेकेर बसेका हुन्छन्। उनीहरूको हातमा कुश वा वाइबोबाट बनाइएको पटाकी हुन्छ। उनीहरूले दिदीबहिनीलाई पटाकीले हल्का बेरिदिँदै रमाइलो ठट्टा गर्छन् र प्रसाद माग्छन्। दिदीबहिनीले हाँस्दै प्रसाद बाँड्छन्। यसरी हाँसो, मायाँ र स्नेहका साथ दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई उत्सवका रूपमा मनाइन्छ।

सेयर कर दियो ।