दिनेश राना/धनगढी । “हमर संस्कृति हमर पहिचान, संस्कृति बचान हमर अभियान, हमर संस्कृति हमर शान, जाके हय विश्व मे चिन्हान ।” भन्ने मूल नाराका साथ रानाथारु महिला कृषि समूहको आयोजनामा धनगढी–१३ कैलाली गाउँमा ‘रानाथारु तीज विशेष कार्यक्रम तथा दसैँ तीज महोत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।

समूहकी अध्यक्ष सरिता देवी रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष विजयराज जोशी मुख्य अतिथि रहनुभएको थियो । प्रमुख अतिथि जोशीले दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । स्वागत मन्तव्य राख्दै संस्थाका सदस्य मोलीराम रानाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष विजयराज जोशीले रानाथारु तीज पर्वले रानाथारु समुदायभित्र एकता र भाइचाराको सन्देश दिएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिको संरक्षण, जगेर्ना र प्रवर्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि वडा कार्यालयका तर्फबाट यस्ता सांस्कृतिक कार्यक्रमहरूमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै धनगढी वडा नं. १३ का वडा सदस्य हीरालाल रानाले आफ्नो पहिचान र संस्कृति जोगाउनका साथै शिक्षामा पनि उत्तिकै जोड दिनुपर्ने बताउनुभयो । साथै, नयाँ युवा पुस्ताले पनि आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो ।

त्यस्तै नेपाल रानाथारु समाजका कञ्चनपुर जिल्ला उपाध्यक्ष मनोहर रानाले संस्कृति बचाउनेसँगै बालबालिकालाई लागूपदार्थ दुर्व्यसनबाट जोगाउनेतर्फ ध्यान दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा अन्य अतिथिहरूमा हरिश खड्का, नगर भल्मन्सा समितिका सचिव बिन्तीराम चौधरी लगायत गाउँका अगुवा, भल्मन्सा, समाजसेवी तथा स्थानीय दिदीबहिनी र दाजुभाइहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांस्कृतिक संरक्षण र आयोजनामा सहयोग पुर्‍याउने सहयोगीहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । सन्तराम रानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सभापति सरिता देवी रानाले तीजको शुभकामना दिँदै औपचारिक रूपमा समापन गर्नुभएको थियो ।

सेयर कर दियो ।