दिनेश राना/ काठमाडौं । रानाथारु दिदिबहिनीहरुको महान् पर्व तीजको अवसरमा नेपाल रानाथारु युवा समाजले तीजको शुभकामना आदानप्रदान तथा झुड्की छिरान कार्यक्रम -२०८३ भव्यताका साथ सम्पन्न गरेको छ ।


​संस्थाका अध्यक्ष कमल रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव अनिल रानाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका केन्द्रीय सदस्य रविन रानाले राख्नुभएको थियो ।


​कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री माननीय पद्मा कुमारी अर्याल रहनुभएको थियो । त्यसैगरी, अतिथिहरूमा अनेरास्ववियुका महासचिव अन्जना शिवाकोटी, मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र राना मगर, गुरुङ विद्यार्थी संघका अध्यक्ष विष्णु गुरुङ, युवा नेता किरण देउवा, तथा लालझाडी गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष हेमराज राना लगायतका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
​औपचारिक सत्रमा संस्थाका केन्द्रीय सदस्यद्वय बसन्ती राना र उपेन्द्र रानाका साथै आमन्त्रित अतिथिहरूले तीज पर्वको शुभकामना व्यक्त  गर्नुभएको थियो ।


​कार्यक्रमलाई थप आकर्षक र सांगीतिक बनाउन रानाथारु समुदायका चर्चित कलाकार शंकर राना, ‘हिमालय रोडिज’ (Himalaya Roadies) को उत्कृष्ट ७ सम्म पुग्न सफल कलाकार रितिका राना र रिना रानालगायतको समुहको बेजोड गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


​सभापति कमल रानाले औपचारिक सत्रको समापन गर्नुभएपछि कार्यक्रम अनौपचारिक सत्रमा प्रवेश गरेको थियो । अनौपचारिक सत्रअन्तर्गत रानाथारु समुदायको मौलिक परम्परा अनुसार झुड्की छिरान, पटासी पड्काउने कार्यक्रम र ब्रत तोडेर रानाथारुका विशेष परम्परागत परिकारहरू ग्रहण गर्दै उत्सव सम्पन्न गरिएको थियो ।

सेयर कर दियो ।