कञ्चनपुर
सुदूरपश्चिम र कर्णाली प्रदेशका वाढीपीडित अझैपनि जंगलमै बसिरहेका छन । सुदूरपश्चिम कञ्चनपुरको लालझाडी र कर्णाली सुर्खेतको बराहतालका वाढीपीडित अहिलेपनि जगलमै बसिरहेका छन । वाढीबाट विस्थापित भएको बषौँ वितिसक्दा पनि उनीहरुको पुर्नस्थापना हुन नसक्दा जंगलमै बस्ती बनाएर बसेका हुन ।
३ असोज ०६५ सालमा दोदा नदीमा आएको वाढी र २९ साउन ०७१ सालमा भेरी नदीमा आएको वाढीले विस्थापित नागरिक जंगलमै बस्न बाध्य भएका छन । दोदा नदी, खर्रा खोलाबाट विस्थापित लालझाडी गाँउपालिका ४ वडाका स्थानीय र भेरी नदी, पाग्मा खोलाबाट विस्थापित बराहताल गाँउपालिका २ दुबिचौरका वाढीपीडित अझैपनि नरकीय रुपमा जंगलमै बसोबास छ ।

लालझाडीका १३ सय बढी परिवार र बराहतालका डेढसय परिवार एकातिर रुख अर्कातिर वन्यजन्तुको आक्र्रमणका विच बस्न विवश छन । वन्यजन्तुको वासस्थान रहेको वनमा अहिले घर सरचना बनाएर मानिस बस्न बाध्य भएका हुन । वन्यजन्तुको वासस्थान एव कोरिडोरमै मानिसको बसोबास भएपछि मानव–वन्यजन्तुविचद्वन्द्व समेत बढिरहेको छ ।
भेरी नदीले बराहताल गाँउपालिका २ दुबिचौरबाट १० बर्ष अघि विस्थापित भई हाल, गिरीघाटमा रहेको चियापानी सामुदायिक वनका बस्दै आएका ६६ बर्षिया मिन बहादुर नेपालीले वाढीबाट विस्थापित भएपछि उचो भागमा बसेको बताए । ‘मेरो दुबिचौरमा डेढ विगाह जमिन थियो, भेरी नदीले पुरै बगायो, उतिबेला जमिन हुँदा खान लाउन पुग्थ्यो, अहिले विस्थापित भएपछि मजदुरी गरेर जिवन गुजारा चलाउन बाध्य भएका हौँ, ‘विस्थापित भएदेखि यता हाल हामी नरकीय जिवन विताईरहेका छौँ ।’
दुविचौरबाटै विस्थापित भएर गिरीघाट जंगलमा बस्दै आएकी ६९ बर्षिया नन्द कुमारी नेपालीले २ विगाह जमिन मात्रै नभई तीन घरपरिवारका सदस्य समेत गुमाएकी थिईन । नन्द कुमारीले ३२ बर्षिया जेठो छोरो रुपलाल नेपाली, २५ बर्षिया जानुका नेपाली र १२ बर्षिया नाति अनिल नेपाली गुमाएकी थिईन । ‘वाढीले मेरो घर, खेत मात्रै होईन सन्तान पनि गुमाएकी छु, ‘उनले भनिन, ‘विस्थापित भएपछि गिरीघाट जगलमा कष्टकर जिवन विताउन बाध्य भएकी छु, वाढीले हाम्रो सबै सुखी लुटिदियो ।’ बसेको स्थानमा विद्युतीकरण नहुँदा जंगलबाट आउने सानादेखि ठुला जनावरले अन्न खाईदिने, मानिसमाथि झम्टिने गरेको उनले बताए । ‘घर बाहिर खाना खान खोज्दा बादरले खोसेर लगिदिन्छ, ‘उनले भने, ‘मानिसको गास, बादरलाई ढिक्क हुन्छ ।’
भेरी नदीबाट विस्थापित दुबिचौरका स्थानीय अगुवा समेत रहेका दिल बहादुर नेपालीले पनि परिवारका दुई सदस्य गुमाएका थिए । दिल बहादुरले ३२ बर्षिया भाई चन्द्र नेपाली र ३० बर्षिया बुहारी भविसरा नेपालीलाई गुमाए । उनले २२ कट्टा भएको जमिन नदीमा बगर बनेको बताउँदै घर सरचना सहित परिवारका दुई सदस्य गुमाएको बताए । वाढीले उतिबेला २७ मानिसले ज्यान गुमाएको उनले बताए । ‘भएको घरखेत परिवारका सदस्य भेरी नदीमै बिलाए, ‘उनले भने, ‘उतिबेला वाढी आँउदा पुरुष कच्छा र महिला पेटिकोटमा आएर बाँचेका हुन ।’
वाढीपीडितको पुर्नस्थापनाका लागि गाँउकै नमुना प्लटमा राखिदिएको भए अहिले सडक छेउ त्यसमा पनि जंगल, जनावरको आतङ्कमा बास बस्नुपर्ने अवस्था सृजना भएको भन्दै उतिबेला सरकार र दलहरुले यहि स्थानमा बस्न लगाएको नेपालीले दुखेसो पोखे ।
‘पुर्नस्थापनाका लागि वडा, पालिका, प्रदेश र संघीय सरकारमा धाउदा धाउँदै हामी थाकिसके, ‘उनले भने, ‘अब त भन्नै मन लाग्दैन, यो जंगलमा रहर नभई बस्ने हाम्रो बाध्यता हो, गरिबका लागि सरकार छैन, जस्तो लाग्छ ।’ दुबिचौरबाट विस्थापित भई हाल गिरीघाटमै बस्दै आएका गोपाल विकले वाढीले घरखेत बनाएर नाङगा भएको बताए । उनले भएको घरखेत बगेपछि गुजारा चलाउन बाध्य भएर जंगलमै निर्भर भएको बताए । ‘जिवन विताउन हामी कोही मजदुर गछौँ, मजदुर नपाए जंगलबाट दाउरा संकलन गरेर बिरेन्द्रनगर बजारमा बेच्छौँ, ‘उनले भने, ‘दाउरा बेचेर घरको गुजारा चलाउँछौँ, दाउरा बेच्न देखेपछि वनले खोसिदिन्छ ।’ खरै खरले छाएका टहरमा आगो लागे बस्ती नै सखाप हुने उनको चिन्ता छ । ‘गाँउमा अहिलेसम्म पनि बिजुली छैन, सोलारबाटै उज्यालो बनाउँछौँ, हिउँदमा खासै समस्या नभएपनि गर्मीका बस्नै सकिदैन, विद्यार्थीलाई पनि पढ्न समस्या हुन्छ ।’ गाँउमा खानेपानी पनि नहुँदा नदी कुवाको पानी पिउन बाध्य भएको उनको दुखेसो छ । विद्यार्थीका लागि आधारभूत र माध्यामिक विद्यालय जान समेत झण्डै ६ किलोमिटर जंगल पार गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । बराहताल गाँउपालिका २ का वडाध्यक्ष भीम बहादुर साउदले सामुदायिक वनमा बसेका वाढीपीडितको पुर्नस्थापना गरिने बताए । वडाध्यक्ष साउदले त्यहाँ जगलबाट हटाएर अन्यन्त्रै व्यवस्थापन गरिने बताए ।
बराहताल गाँउपालिका अध्यक्ष भीम बहादुर भण्डारीले वाढीबाट विस्थापित भएपछि उतिबेला राहत तथा क्षतिपूर्ति जे भनेपनि सरकारबाट एक पटक ५० हजार र पछि घर बनाउन ३लाख दिएपनि पीडितहरु घर नफर्किएको बताए । ‘पालिबाट हामीले चाहेर पनि उनीहरुको स्थापन गर्न सकिएको छैन, ‘उनले भने, ‘कार्यबिधी बनाएर व्यवस्थापन गछौँ, चालु आर्थिक बर्षमा मात्रै १ करोड बजेट विनियोजन गरेका छौँ ।’पीडितहरुलाई अर्को स्थानमा स्थानान्तर गर्नका लागि पहल भईरहेको उनले बताए ।
डिजिवन वन कार्यालय सुर्खेतका वन अधिकृत बसन्त बहादुर श्रेष्ठले जंगलमा लामो समयदेखि बसेका वाढीपीडित मानव बस्तीका कारण जैविक विविधता सरक्षणमा चुनौती थपिदिएको बताए ।
‘त्यहाँ वाढीबाट विस्थापित जंगल सडक छेउमै बसेका छन, ‘उनले भने, ‘वन्यजन्तुको आवात जावत गर्ने क्षेत्र पनि हो, अब उनीहरुको बैकल्पिक व्यवस्था नहुँदै मानविय रुपमा हटाउन पनि सकेका छैनौँ, राज्यले उनीहरुलाई हेर्नुपर्छ ।’ सुर्खेतमा १ लाख ७२ हजार हेक्टर वन क्षेत्रमध्ये गिरीघाट सहित ५÷७ स्थानमा वाढीपीडित, सुकुमबासी, पहिरोपीडितले वन क्षेत्र अतिक्रमण गरेर बसेको बताए । ‘वन क्षेत्र अतिक्रमण गरेर मानव बस्ती विस्तार हुँदाद्वन्द्वका घटना पनि हुने गरेका छन, भावि दिनमा पनि हुनेछन, ‘उनले भने, ‘यसर्थ समयमै वाढीपीडितलाई जंगलबाट अन्यन्त्रै व्यवस्थापन गर्नुपर्छ ।’ पछिल्ला बर्षहरुमा सुर्खेतका वनजंगलमा समेत सानादेखि ठुला जनावरको संख्या बढिरहेका बेला वनमै रहेका बस्तीका कारण मानव वन्यजन्तुविचद्वन्द्वका घटना बढ्ने भएकाले समयमै अतिक्रमित वन क्षेत्र खाली गर्नुपर्ने बताए ।
सुर्खेतको जंगलमा मात्रै होईन, कञ्चनपुरको वन जंगलमा पनि वाढीपीडित बस्दै आएका छन । दोदा नदीको वाढीले विस्थापित लालझाडी गाँउपालिका ४ वडाका एक हजार ३२५ परिवार १६ बर्षदेखि जंगलमै बास बस्न बाध्य भएका छन । दोदानदी र गाँउमै रहेको खर्राखोला आएको वाढीले कटान, डुवान, पटानमा परेर पीडित भएका नागरिक अहिलेसम्म पनि जंगलमै बसेका छन । लालझाडी गाँउपालिका १, २ , ३ र ४ नम्बर वडाहरुका तथ्याङ्क अनुसार क्रमस २५, ६ सय, ३ सय र ४ सय परिवार अहिलेसम्मैपनि जंगलमै बस्न बाध्य भएका छन । डिभिजन वन कार्यालय कञ्चनपुर अनुसार विगतमा लालझाडी मोहना सरक्षित वन रहेको अहिले उक्त क्षेत्रमा सामुदायिक वन हस्तान्तरण गरिएका छन ।
लालझाडी १ नमुना, कृष्ण, २ बैजनाथ, ३ नवदुर्गा र ४ कञ्चन र ईटाहा सामुदायिक वनको क्षेत्रमा बसेको मानव बस्ती घरको आँगनमै चारैतिर साल सहितका विभिन्न प्रजातिका ठुलठुला रुख छन । चैत्रदेखि जेठसम्म आउने हावाहुरी आँधीबेहरका बेला रुखका हाङ्गा खसेर, रुख नै ढलेर मानिस, पशुधनदेखि भौतिक सरचनामा क्षति पुग्दै आएको छ ।
दुधुवा नेशनल पार्क लालझाडी हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेस गर्ने हात्तीको बथानले मानिसमाथि आक्र्रमण, भौतिक सरचना र अन्नबालीमा क्षति पु¥याउँदै आएको छ ।
उतिबेला बस्ती मात्रै नभई वाढीबाट विद्यालय समेत विस्थापित भएको थियो । लालझाडी ३ नन्दगाँउको शंकर आधारभूत विद्यालय डुवानमा परेपछि अहिले विद्यालय पनि बस्ती जस्तै उचो भागमा संचालन हुँदै आएको छ । शंकर आधारभूत विद्यालयका प्रद्यानाध्यापक करन सिह बडायकले वाढीबाट विस्थापित भएपछि उचो भागमा संचालन गर्दा जगली जनावरबाट समस्या उत्पन्न हुने गरेको बताए । ‘हुन त विद्यालयमा ठुला जनावरले अहिलेसम्म क्षति गरेका छैनन, ‘कतिबेला जनावर आएर क्षति गरिदिन्छ, बाँदरले समेत डिस्र्टब गरिदिन्छ ।’
वाढीबाट विस्थापित लालझाडी गाँउपालिका १ नौरङ्ग शिबिरकी मुन्नी रानाले दोदा नदीको वाढीले भएको जमिन कटानी गरिदिएपछि बाध्य भएर जंगलमा बसकेको बताईन ।
‘मेरो १० कट्टा जमिन थियो, सो जमिनले खान लगाउ पुग्थ्यो, ‘०६५ सालको वाढीले पेट पाल्ने जमिन पुरै जमिन बगाईदिएपछी मजदुरी अधिया बनाएर जिवन जिउन बाध्य भएका छौँ ।’ अहिलेसम्म जंगलमा वन्यजन्तुको आक्र्रमण खेप्दै बस्न बाध्य भएको उनको दुखेसो छ । ‘कहिले बस्तीमै हात्ती पुगेर कहिले घर, गोठ, चितुवा पुगेर बाख्रा खाईदिन्छन, ‘उनले भने, ‘हामीले जंगलमा नरकीय जिवन विताउन बाध्य भएका छौँ ।’
लालझाडी गाँउपालिका १ का वडाध्यक्ष प्यारेलाल रानाले वाढीबाट विस्थापितहरुको पुर्नस्थापनाका लागि पहल गर्दा समेत नभएको बताए । उनका अनुसार २५ परिवार अझैपनि जंगलमै बसिरहेको बताउँदै, कहिले रुख ढलेर कहिले वन्यजन्तुबाट शिबिरका नागरिक पीडित हुँदै आएको बताए । ‘हाम्रो स्तरबाट पीडितको पुर्नस्थापनाका लागि पहल गर्दा पनि नहुने, पालिका, प्रदेश र केन्द्रले हेर्नुपर्छ ।’ लालझाडी गाँउपालिका २ कसवाका ८२ बर्षिया बृद्ध हिरालाल रानाले ०६५ र त्यस अघिपछिबाट विस्थापित भएका पीडित अहिलेपनि उचो भाग जंगलमा बस्न बाध्य भएको बताए । ‘हरेक बर्ष दोदा नदीले होचो भागमा डुवान गर्दै आउँछ, ‘उनले भने, ‘डुवानबाट मुक्ती पाउन हामी जोखिम मोलेर उचो भागमा बस्दै आएका छौँ ।’ हिरालालले आफ्नो १० कट्टा जमिन बगाएपछि बाँच्नका लागि जंगलमै बसेको बताए ।
लालझाडीमा दोदा मात्रै नभई खर्राखोलाको पनि आतङ्क छ । खर्रा नालाबाट विस्थापित प्यारीलाल रानाले भएको ५ कट्टा जमिन कटानी गरेर खोलामा बगर बनेको बताईन । ‘दैनिक गुजारा चलाउने खेत बगेपछि हामी अहिले जंगलमा बन्यजन्तुको आक्र्रमणका विच पनि बसेका छौँ, ‘उनले भनिन, ‘जंगली हात्तीले कहिले घर भत्काउँदा पनि बस्न विवश छौँ ।’ लालझाडी गाँउपालिका २ का वडाध्यक्ष आशाराम रानाले दोदा नदी खर्राखोलाका कारण झण्डै ४ सय परिवार अहिलेपनि जंगलमै बस्न बाध्य भएको बताए । ‘हरेक बर्ष दोदा नदीको कटान पटानले नागरिक विस्थापित हुँदै आएका छन, ‘उनले भने, ‘बर्षनी उही समस्या खेप्नुपर्ने भएकाले नागरिक जहाँका त्यही बसेका छन, कसैको खेतबारी बाँचेको भए खेतीपाती लगाउँछन, कटान, पटान भए अधिया बनाएर दैनिक गुजारा चलाईरहेका छन ।’
लालझाडी गाँउपालिका ३ नन्दगाँउका बहाली रानाले दोदा नदीले १० कट्टा जमिन कटानी र घरसम्मै वाढी आएर डुवान भएपनि आफ्नो परिवार सहित अन्य गाँउले उचो भाग जंगलमा बसेको बताए । ‘दोदामा उतिबेला अहिलेसम्मकै ठुलो वाढी आएर सिङ्गै गाँउपालिका डुवानमा प¥यो, ‘उनले भने, ‘हामीले जेनतेन उचो भागतिर आएर बसे, यहाँ पनि दैनिक सानादेखि ठुला जनावर आतङ्क कायमै छ, एकातिर वाढीपीडित अर्कातिर बन्यजन्तु पीडित हुनुपरेको छ ।’
नन्दगाँउकै ६५ बर्षिया रामवत्ती रानाले भएको १ विगाह जमिन दोदाले कटानी गरेको बताईन । ‘दैनिक गुजारा चलाउने खेतबारी वाढीले बगर बनाईदियो, ‘उनले भनिन, ‘वाढीको घाउ बिर्सिएपनि हामीलाई यस जंगलमा हात्ती सहितका वन्यजन्तुले सताउने गरेको छ, हात्तीले घर सरचना भत्काईदिने, भएको सानो अन्नबाली खाईदिने समस्या ज्यूँका त्यूँ छ ।’
लालझाडी गाँउपालिका ३ पर्सियाका रामेश्वर रानाले वाढीले आफ्नो ४ विगाह जमिन बगाएपछि जंगलको डाँडामा आएर बसेको बताए । ‘उताबाट हामी वाढीले विस्थापित भए,यता जंगली जनावर र रुखको ताण्डपमा परेका छौँ, ‘उनले भने, ‘जंगली जनावर आएर मानिसमाथि आक्र्रमण, भौतिक सरचनामा क्षतिदेखि अन्नबाली नष्ट गरिदिन्छ, ‘उनले भने, ‘रुख ढलेरैपनि मानिस घाईते, पशुधनमाथि क्षति भएको छ ।’
लालझाडी गाँउपालिका ३ का वडाध्यक्ष टीकाराम चौधरीले दोदा नदिबाट विस्थापित ३सय परिवार अझैपनि वनमै बसिरहेको बताए । ‘दोदा नदीले कटानी, पटानी, डुवान गरेपछि नन्दगाँउ सहितका वाढीपीडित अहिले पनि जंगलमै बसेका छन, ‘उनले भने, ‘पुर्नस्थापनाका लागि पहल गर्दा गर्दै थाकिसके ।’
लालझाडी गाँउपालिका ४ पर्सियाका भज्जी रानाले जंगलको मानिसको बसाई जनावर भन्दा कम नभएको बताए । ‘हामी वाढीबाट विस्थापित भएपछि जंगलमा पनि लामो समय बसाई भईसक्यो, सडक नहुँदा पनि दैनिक कामकाज बाँचेको खेत जोगाउनै समस्या भएको छ ।’
भज्जीले डेढ विगाह जमिन बगाएसगै बाँकी रहेको जमिनमा खेतीपाती गर्न दैनिक कामकाज गर्नका लागि सडक नहुँदा समस्या भएको बताए । ‘हामी जंगलमा बसेका छौँ, एकातिर जनावर अर्कातिर हावाहुरी आउँदा रुखका हाङ्गा खस्ने, रुख ढल्ने, विद्युत अवरुद्ध हुँदा झन जिवन कष्टकर बन्दैछ, ‘उनले भने, ‘विद्यार्थीलाई पनि समस्या भईरहन्छ ।’ उनले पुरानै स्थानमा जाँदा फेरी वाढीकै त्रास र जंगलमा बस्दा बन्यजन्तुको आतङ्क जारी रहेको बताए ।
लालझाडी ४ डाँगाजाईकै रामआश्रे रानाले वाढीबाट विस्थापित भएदेखि जिवन कष्टकर मात्रै नभई जंगली जनावरसंग जुधेर बाँच्नुपर्ने अवस्था आएको बताए । ‘हामी वाढीबाट विस्थापित भएर जंगलमा बसेका छौँ, यहाँ जनावरको समेत आतङ्क छ, केही जमिन नदीले बगायो, बाँचेको जमिनको अन्नबालीपनि वन्यजन्तुले पनि सखाप पारिदिन्छन ।’
डाँगाजाईकै गिता रानाले वाढीबाट विस्थापित भएपछि एकातिर खेत अर्कातिर बसोबास भएको बताईन । ‘हाम्रो त्यहाँ खेत थियो, केही नदीले बगायो, केही बाँकी बचेको छ, ‘उनले भनिन, ‘वाढीले विस्थापित मात्रै होईन, झन जोखिममा पारिदियो ।’ एकातिर जंगलबाट आउने सानादेखि ठुला जनावर घरसम्मै पुगेर आतङ्क मच्चाउने गरेको उनले दुखेसो पोखिन् । लालझाडी गाँउपालिका ४ का वडाध्यक्ष बहादुर रानाले दोदानदीको वाढीले विस्थापित ४ सय परिवार अहिलेपनि जंगलमै बसेको बताए । ‘वाढीबाट विस्थापित पीडित परिवार अहिले सबै वनमै बसेका छन, ‘उनले भने, ‘वनमा बस्दा बन्यजन्तुले सताउने गरेको घटना भईरहन्छन ।’ वाढीपीडितको पुर्नस्थापनाका लागि वडाको पहलले केही नहुने प्रदेश र सघीय सरकारले गर्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय सिद्धनाथ विज्ञान क्याम्पस उप प्राद्याध्यापक एव मानव वन्यजन्तुविचको द्वन्द्वको अध्ययन अनुसन्धान गर्दै आएका डा. बलराम अवस्थीले वन्यजन्तुको कोरिडोरमा मानव बस्ती हुँदाद्वन्द्व बढिरहेको बताए । ‘हात्ती बाघ जस्ता ठुला जनावर हिड्ने मार्गमा बस्ती हुँदा बन्यजन्तुले स्वतह मानिसमाथि आक्र्रमण र भौतिक सरचना अन्नबाली नष्ट गर्दै जान्छन, ‘उनले भने, ‘वाढी विस्थापितको पुर्नस्थापनाका लागि नदी नियन्त्रण गर्दै मानवबस्ती बस्तीतिरै सार्दै एकातिर मानव अर्कातिर बन्यजन्तुको सरक्षण गर्नुपर्छ ।’ वाढीपीडितको वैकल्पिक व्यवस्था नहुँदासम्म नागरिकलाई बन्यजन्तुको आक्र्रमणबाट बाँच्ने उपाया बारे सचेतना गराउनुपर्ने उनको सुझाव छ ।
सामुदायिक वन समन्वय समितिका अध्यक्ष एव सरक्षणकर्मी महेश दत्त जोशीले भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपालको लालझाडी वनमा प्रवेस गरेको हात्तीको बथान लालझाडी भएर शुक्लाफाँटा निकुञ्ज प्रवेस गर्दा कोरिडोरमै वाढीपीडित भएकाले हात्तीले मानवमाथि आक्र्रमण गर्दै आएको बताए ।
‘वन्यजन्तुकै वासस्थान लालझाडी जंगलमा वाढीपीडित बस्ती छ, ‘हात्ती हिडडुल गर्ने क्रममा बस्तीतिरै गएर मानिसमाथि आक्र्रमण भौतिक सरचना क्षतिदेखि अन्नबाली नष्ट गर्दै आएको छ, ‘उनले भने, ‘वाढीले मानिस विस्थापित भएर जंगलतिर आए सरकारले वाढी नियन्त्रण गर्न सक्यो, मानिस जंगलमै बसिरहे जसका कारण मानव र वन्यजन्तु आमनेआमने हुँदा द्वन्द्व बढ्दै गयो ।’ उनले दोदा नदीको वाढी नियन्त्रण गर्दै स्थानीयको जमिन पुर्नरुत्पादन गर्दै गएपछि नागरिक जोखिम मोलेर जंगलमा नबस्ने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले वाढीबाट विस्थापित पीडित अहिलेपनि जंगलमै बसेकाले उनीहरु वन्यजन्तुबाट जोखिममा रहेको बताए । ‘दोदानदीबाट विस्थापित भएर उनीहरु अहिलेपनि जगल छेउमै छन, विगतमा विचविचमा थिए, वनले उनीहरुलाई सम्झाई बुझाई गरेर छेउमै राखेको हो, ‘उनले भने, ‘अब बन्यजन्तुबाट बाँच्नका लागि सचेत हुनुपर्छ, सह अस्थित्व अनुरुप बाँच्नुपर्छ , अहिलेका लागि यही उत्तम विकल्प हो ।’
लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले नदी नियन्त्रणका लागि पालिकाले आफ्नो तहबाट बजेट विनियोजन गरेको र थप कटानी नियन्त्रणका लागि माथिल्ला निकायमा पहल गर्ने र जंगलमा बसेका वाढीपीडितको पुर्नस्थापनामा र वन्यजन्तुबाट हुने क्षतिपूर्तिका लागि संघ संस्था र माथिल्ला सरकारसंग समन्वय गर्ने बताए ।







