बेलडाँडी । हरकिशन रानाको रहस्यमय मृत्यु प्रकरणमा एक वर्षपछि नयाँ मोड आएको छ। ‘चेक प्रकरण’सँग जोडिएकी बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी छन्। यससँगै लामो समयदेखि अन्योलमा रहेको घटनामा अब अनुसन्धान चेक प्रकरणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।


गत वर्ष बैशाख ९ गते बिहान राना बेलौरी नगरपालिका-१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटनाको प्रकृति र अवस्थाले सुरुदेखि नै शंकास्पद देखिए पनि हालसम्म स्पष्ट निष्कर्ष आउन सकेको छैन।
पीडित परिवार, स्थानीयवासी र रानाथारू समाजले घटनाको वास्तविकता उजागर गर्न सम्पूर्ण अनुसन्धानको मोडालिटी नै पुनः समीक्षा गर्नुपर्ने बताएका छन्।
परिवारका अनुसार घटनाअघि देखिएको १२ लाख रुपैयाँको चेक, र ४ लाख बहिनी सम्झेर दिनुपर्ने प्रकरणमा अनुसन्धानै नभएकाले मृत्युको प्रमुख कारण हुनसक्ने आशंका गरिएको छ ।
उपाध्यक्ष नाथले पदको दुरुपयोग गर्दै अनुदान आफुले दिलाईदिएको हुँ भन्दै उक्त चेक आफुले लिइ तेस्रो व्यक्तिको नाममा काटेको, तेस्रो व्याक्तिलाई नै दबाब बनाई बाउन्स गराइएको र पछि ती ब्याक्तिले पुनः चेक बाउन्स नगरिदिन बैंकलाई आग्रह गरिएको घटनाले योजनाबद्ध दबाब र आर्थिक अनियमितताको संकेत गरेको उनीहरूको दावी छ।


पीडित पक्षले ‘चेक कसले लिन खोजेको थियो? किन तेस्रो व्यक्तिको नाममा काटियो? किन बाउन्स गरियो र फेरि रोक्न खोजियो?’ जस्ता प्रश्नहरूको जवाफ नआउँदासम्म घटनाको वास्तविकता बाहिर नआउने स्पष्ट पारेका छन्।
परिवार र सरोकारवालाहरूले निम्न बुँदामा केन्द्रित भएर अनुसन्धान अगाडि बढाउन माग गरेका छन्: चेक प्रकरणको फरेन्सिक जाँच: चेक जारी गर्ने, प्राप्त गर्ने र बाउन्स गराउने प्रक्रियाको प्राविधिक तथा कानुनी विश्लेषण ।
आर्थिक लेनदेनको ट्र्याकिङ: ४० लाख अनुदानसँग जोडिएको रकमको प्रवाह, संलग्न व्यक्ति र उद्देश्यको खोजी ।
अडियो प्रमाणको प्रमाणीकरण: सार्वजनिक भइसकेका अडियोहरूको सत्यता परीक्षण र त्यसमा उल्लेखित व्यक्तिमाथि सोधपुछ ।
धम्की र दबाबको अनुसन्धान: मृतक रानामाथि आएको भनिएको धम्की, घरमै पठाइएका व्यक्तिहरू र मानसिक दबाबको पाटो ।
शंकास्पद व्यक्तिको भूमिका विश्लेषण: राजनीतिक वा प्रशासनिक पहुँच भएका व्यक्तिहरूको संलग्नता भए/नभएको स्पष्ट पार्ने ।
घटना अघि-पछि गतिविधिको म्यापिङ: मृत्यु हुनु अघि र पछि भएका सम्पूर्ण घटनाक्रमको टाइमलाइन तयार पार्ने ।
चेकको विषयलाई लिएर स्थानीय स्तरमा नाथ विरूद्ध उठेको आन्दोलन र त्यसपछि भएको राजनीतिक सहमतिले अनुसन्धानमा असर परेको आशंका समेत व्यक्त गरिएको छ।
नेपाली काँग्रेसद्वारा नाथ माथी छानबिनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक नगरिनुले पारदर्शितामाथि थप प्रश्न खडा गरेको छ।
पीडित परिवारले स्पष्ट रूपमा ‘जिरो पोइन्ट’बाट अनुसन्धान सुरु गरी चेक प्रकरणलाई मुख्य आधार बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग जोडतोडका सात उठाएका छन्।
मृतकका छोरा भुवन रानाले भने, “चेक प्रकरण नै घटनाको केन्द्र हो भन्ने हाम्रो आशंका हो, यसलाई गहिराइमा नहेरी सत्य बाहिर आउँदैन।” प्रभावमुक्त र पारदर्शी अनुसन्धान नभएसम्म न्याय नहुने स्पष्ट पारेको छन् ।
स्थानीयवासीहरूका अनुसार यो घटना केवल एक व्यक्तिको मृत्यु मात्र नभई गाउँमै श्रम गरेर आत्मनिर्भर बन्न खोज्ने युवाको भविष्यसँग जोडिएको विषय भएको बताएका छन् ।








