कञ्चनपुरः कञ्चनपुरमा सरकारी जमिन अतिक्रमणको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै कम्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले औपचारिक ध्यानाकर्षण पत्र जारी गर्दै सम्बन्धित निकायलाई तत्काल कारबाही गर्न माग गरेको छ।

संगठनका अनुसार भीमदत्त नगर विकास समितिअन्तर्गत पर्ने ६३८ विगाहा ८ कट्ठा १३ धुर सरकारी जमिनमा अवैध कब्जा, लिजको नाममा अनियमितता तथा गैरकानुनी संरचना निर्माण भइरहेको छ। जिल्लाभरि नै सरकारी जमिन अतिक्रमणको समस्या फैलिँदै गएको उल्लेख गर्दै यस्ता सबै अवैध अतिक्रमण तुरुन्त हटाउनुपर्ने माग गरिएको छ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै संगठनले राज्यको उदासीनताप्रति गम्भीर प्रश्न उठाएको छ। यसले सरकारी सम्पत्ति संरक्षणमा लापरबाही भइरहेको आरोप लगाउँदै तत्काल हस्तक्षेप आवश्यक रहेको बताएको छ।

ध्यानाकर्षण पत्रमार्फत कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायलाई अवैध संरचना हटाउन र अतिक्रमण नियन्त्रणका लागि कडा कदम चाल्न आग्रह गरिएको छ।

यदि मागहरू तत्काल सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै संगठनले सरकारी जमिन संरक्षणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई सचेत गराएको छ।