कञ्चनपुर, १० । कञ्चनपुरको बेलौरीमा १४ वर्षीया बालिकाले अवैध सम्बन्धबाट बच्चा जन्माएको घटना बाहिरिएको छ। बेलौरी नगरपालिका–८ कलकत्ताकी बालिकाले माघ ३ गते घरमै छोरालाई जन्म दिएकी थिइन्।
बालिकाको बयानपछि ईलाका प्रहरी कार्यालय बेलौरीमा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी समेत परेको छ। भारतको बरेलीका दयाराम गुप्ता विरुद्ध पीडीत परिवारले प्रहरीमा जाहेरी दिएका हुन। गुप्ता बालिकाका भिनाजु नाता पर्छन्।
गुप्ताका दाइले किशोरीका काकाकी छोरीसंग बिहे गरेका थिए। त्यसले गर्दा उनी दाइको माइती घर कलकत्ता ओहोरदोहोर गरिरहन्थे। त्यस क्रममा बालिका र गुप्ताबीच हेलमेल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बालिका कलकत्ताकै स्थानीय जनज्योती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। गत बैशाखमा ती बालिका भिनाजु नाता पर्ने गुप्तासंग भागेर भारततर्फ गएको खुलेको छ।
ईलाका प्रहरी कार्यालय बैलारीले उनीहरुलाई भारततर्फ जाँदै गर्दा नाकामा रोकेको थियो। त्यस बेला बालिकाको उमेर १३ वर्ष मात्रै रहेकाले प्रहरीले भारततर्फ जानबाट रोकेर परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
लोकलाजका कारणले बालिकाको परिवारले पनि घटना लुकाएको खुलेको छ। बालिकाको गर्भ सात महिना पुग्नु अगाडिसम्म परिवारलाई त्यस बारेमा केही सुईँको थिएन। बालिकाले अवैध गर्भ घरपरिवारलाई पनि नभनेर लुकाएकी थिए।
गर्भ सात महिना पुगेपछि मात्रै परिवारले त्यस बारे थाहा पाए। गाउँमा बेइज्जत हुने सोचले परिवारले भने घटना बाहिर जनाएनन्। उनीहरुले लोकलाजबाट जोगिन बुहारीको बच्चा देखाउने योजना बनाए।
बालिकाको जेठो दाइको केही समय अगाडि मात्रै बिहे भएको थियो। माघ ३ गते घरमै बालिकाले बच्चालाई जन्म दिइन्। परिवारले गाउँमा भने बुहारीको बच्चा भनेर छोरीको अवैध सम्बन्धलाई जोगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।
‘बुहारीको शारीरिक अवस्था सामान्य जस्तै भएकाले स्थानीयले शंका गरे,’ भण्डारीले भने, ‘परिवारले भने गाउँमा बुहारीकै बच्चा भनेर भनेका रहेछन्।’ शंकास्पद लागेपछि स्थानीयले ८ माघमा प्रहरीलाई खबर गरेसंगै घटना बाहिरिएको हो। त्यसपछि प्रहरीले बालिका, उनका बच्चा र आमा बुवालाई ईलाका प्रहरी कार्यालय बैलारीमा ल्याए।
प्रहरीले किशोरीसंग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छन्। ‘बालिकाले हामीसंगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छन्, पीडीत परिवारले अहिले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ।’
उनका अनुसार बालिकाको परिवारले गर्भ सात महिना भएपछि मात्रै थाहा पाएको बयान दिएका छन्। प्रहरीले बालिकालाई दुई दिन परामर्श केन्द्रमा राखेको थियो। मंगलबार स्वास्थ्य परीक्षणका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ। परामर्श पछि बालिकालाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।






