कञ्चनपुर: लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक र महत्वपूर्ण अध्याय पूरा भएको छ। “सन्तुलन विकास एवं दिगो पूर्वाधार, समृद्ध लालझाडीको आधार” भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा दुईदिने विशेष पालिका स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको गहन समीक्षा गर्दै आगामी वर्षका लागि ठोस कार्यदिशा तय गरेको छ।
गोष्ठीका यी दिनहरू असोज ६ र ७ गते, वर्षभरि पालिका अन्तर्गतका हरेक वडास्तरीय स्वास्थ्य संस्थामा भएका स्वास्थ्य गतिविधिहरूको विस्तृत मूल्याङ्कन र समीक्षा गरियो। जसमा स्वास्थ्य सेवामा देखिएका चुनौतीहरू, हासिल गरिएका उपलब्धिहरू र सुधारका क्षेत्रहरूमाथि गहन छलफल भयो। जिल्लाको स्वास्थ्य क्षेत्रमा अग्रणी स्थानमा रहँदै आएको लालझाडी गाउँपालिकालाई, समीक्षाको आधारमा, सहभागी विज्ञहरू र सरोकारवालाहरूले गाउँपालिकाको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, वैज्ञानिक, सर्वसुलभ र जनमुखी बनाउनका लागि नयाँ र परिष्कृत रणनीतिक योजनाहरू तयार पारेका छन्। यसले आगामी दिनमा स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।
यस महाअभियानलाई सफल बनाउन अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका प्रतिष्ठित संस्थाहरूको महत्वपूर्ण र अभूतपूर्व सहयोग प्राप्त भएको छ। विशेष गरी संयुक्त राज्य अमेरिका (USA), ‘Epic meeting Targets and Maintaining Epidemic Control’, ‘निड्स नेपाल’ (NEADS Nepal) जस्ता संस्थाको सक्रिय साझेदारी र सहयोगले लालझाडीको स्वास्थ्य प्रणालीलाई गुणस्तरीय मापदण्डमा पुर्याउन ठूलो टेवा पुर्याएको छ।
गोष्ठीमा लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना र उपाध्यक्ष श्री सपना चौधरी रानाको विशेष उपस्थिति र नेतृत्व रहेको थियो। साथै, कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राज बहादुर सार्की, विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख श्री दिपेन्द्र सिंह रावल, वरिष्ठ तथ्याङ्क अधिकृत श्री जनक कुँवर, तथ्याङ्क अधिकृतद्वय श्री विपिन लेखक र श्री केशर राज भट्ट, पालिकाका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, र स्वयंसेविकाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई भव्य र गरिमामय बनाएको थियो।
लालझाडी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको यो दुईदिने गोष्ठीले स्थानीय तहको स्वास्थ्य सेवालाई नयाँ उचाइमा पुर्याउन कोसेढुङ्गाको काम गरेको छ। समीक्षा र योजना तर्जुमाको यो प्रक्रियाले गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सुनौलो अवसरको ढोका खोलेको छ।







