ज्ञानु राना / कैलाली
धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरा, कैलालीमा चौथो मनेहरा कप २०८३ खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही २०८३ साल असोज १६, १७ र १८ गते मनेहरामा सञ्चालन हुने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा भलिबल खेलको विकास तथा विस्तार गर्ने, खेलाडीहरूको प्रतिभा पहिचान गर्ने र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न वडा तथा क्षेत्रबाट टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै द्वितीय स्थान हासिल गर्ने टिमलाई नगद रु. १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
यसैगरी प्रतियोगितामा तृतीय हुने टिमलाई नगद रु. ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरी खेलकुद क्षेत्रमा थप प्रोत्साहन गर्ने आयोजकको तयारी रहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क रु. १ हजार ५ सय निर्धारण गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने वडास्तरीय पुरुष भलिबल टिमहरूले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो टिम दर्ता गराउन आयोजकले आग्रह गरेको छ।
भलिबल प्रतियोगितासँगै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ। सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति तथा प्रतिभाको प्रदर्शन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरामा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रोमाञ्चक भलिबल प्रतिस्पर्धासँगै सांस्कृतिक कार्यक्रमसमेत हुने भएकाले स्थानीय खेलप्रेमी तथा दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।







