नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ मा ८ औँ ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
विजय दशमी शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा पारेर ,आयोजना हुन लागेको प्रतियोगिता आगामी कार्तिक १४ गतेदेखि सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले कार्तिक १० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा विभिन्न स्थानीय तथा आसपासका क्षेत्रबाट फुटबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. १ लाख ११ हजार १ सय ११ नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीलाई रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि लालझाडी गाउँपालिका वडा नम्बर ५ को कार्यालय मुख्य प्रवर्धकका रूपमा रहने आयोजकले जनाएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय युवाहरू, खेलप्रेमी तथा सम्बन्धित निकायको सहयोग र सहभागिता महत्वपूर्ण रहने आयोजकले अपेक्षा गरेको छ।
प्रतियोगिताका लागि टिम दर्ता तथा अन्य आवश्यक जानकारीका विषयमा आयोजकले सम्बन्धित खेलाडी तथा टोलीहरूलाई समयमै सम्पर्क गरी सहभागिता जनाउन आग्रह गरेको छ।







