नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा रहेको विजय गलिल आशिष चर्चमा लालझाडी ईसाई समाज शाखाको आयोजनामा जवान–जवानीका लागि एकदिने आत्मिक संगति सम्पन्न भएको छ।

आइतबार सम्पन्न भएको उक्त आत्मिक संगतिमा लालझाडी गाउँपालिकाका विभिन्न २३ वटा चर्चमा आबद्ध जवान–जवानी तथा युवा–युवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संगतिमा सहभागीहरूबीच आपसी परिचय, आत्मिक एकता, विश्वास र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

कार्यक्रममा कञ्चनपुर जिल्ला ईसाई समाजका कोषाध्यक्ष तथा वक्ता रेभरेन पास्टर सुरज मल्लको प्रमुख वचन तथा आत्मिक सन्देश रहेको थियो। उहाँले जवान–जवानीहरूलाई आफ्नो विश्वासमा दृढ रहँदै परमेश्वरको वचनअनुसार जीवन अघि बढाउनुपर्नेमा जोड दिनुभयो। युवाहरू समाज र चर्चका भविष्य भएकाले उनीहरूलाई सही मार्गदर्शन, आत्मिक अनुशासन र सेवाभाव आवश्यक रहेको उहाँले बताउनुभयो।

त्यस्तै, कार्यक्रममा रेभरेन पास्टर खर्च तामाङ, पास्टर सुरेन्द्र राना,पास्टर चेतराम राना,पास्टर जवाहर राना,को समेत उपस्थिति रहेको थियो। उहाँले सहभागी जवान–जवानीहरूलाई आत्मिक जीवनमा निरन्तर अघि बढ्न, एकअर्काप्रति प्रेम, सद्भाव र सहयोगको भावना कायम राख्न आग्रह गर्नुभयो।

आत्मिक संगतिको क्रममा विभिन्न चर्चबाट सहभागी भएका भाई–बहिनीहरूले क्रिश्चियन गीत तथा संगीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो। सहभागीहरूले गीत, नृत्य तथा आत्मिक संगतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै एकअर्कासँग आत्मिक सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाएका थिए।

कार्यक्रममा सहभागी जवान–जवानीहरूले आत्मिक वचन श्रवण गर्नुका साथै सामूहिक संगति र प्रार्थनामा समेत सहभागिता जनाएका थिए। यस्तो प्रकारको संगतिले युवाहरूमा आपसी एकता कायम गर्नुका साथै आत्मिक जीवनलाई थप मजबुत बनाउन सहयोग पुग्ने सहभागीहरूले बताएका छन्।

कार्यक्रम लालझाडी ईसाई समाज शाखा अन्तर्गतको जवान संगतिका सचिव विकास चौधरीले सञ्चालन गर्नुभएको थियो। 

एकदिने आत्मिक संगतिले लालझाडी गाउँपालिकाका विभिन्न चर्चमा आबद्ध जवान–जवानीहरूलाई एउटै स्थानमा भेला गराई आपसी प्रेम, एकता, विश्वास र आत्मिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

सेयर कर दियो ।