ज्ञानु राना / कञ्चनपुर। ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को पावन अवसरमा आयोजित कृष्णपुर नगरस्तरीय विद्यालय हाजिरीजवाफ प्रतियोगितामा रिज एकेडेमी स्कुल प्रथम भएको छ।

कञ्चन बहुमुखी क्याम्पस, गुलरिया, कञ्चनपुरमा आयोजित उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिकाका २२ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रश्नहरूको उत्तर दिँदै आफ्नो ज्ञान, क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए।

‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्ने, शैक्षिक ज्ञानको विकास गर्ने तथा विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सञ्चालन गरिएको थियो।

प्रतियोगिताको सभाध्यक्षता अशोक सिंह धामीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख द्रोपती रानाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षकहरू, नगरपालिकाका कर्मचारीहरू, कृष्णपुर नगरपालिकाका शिक्षा प्रमुख, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिता निर्धारित १५ नियमका आधारमा सञ्चालन गरिएको थियो। सहभागी विद्यालयका विद्यार्थीहरूले प्रश्नहरूको उत्तर दिँदै प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रिज एकेडेमी स्कुल, कृष्णपुर–६, मौरिफाँटा, कञ्चनपुरले प्रथम स्थान हासिल गर्न सफल भयो।

त्यसैगरी, सनलाइट माध्यमिक विद्यालयले द्वितीय, उदय माध्यमिक विद्यालयले तृतीय र कृष्ण माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम हुने रिज एकेडेमी स्कुललाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। द्वितीय हुने सनलाइट माध्यमिक विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो भने तृतीय हुने उदय माध्यमिक विद्यालयले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेको थियो। सान्त्वना स्थान हासिल गर्ने कृष्ण माध्यमिक विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै ज्ञान, सीप र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बालबालिकाको अधिकार संरक्षण, उनीहरूको प्रतिभा पहिचान र शैक्षिक विकासलाई प्राथमिकता दिँदै आयोजित कार्यक्रमले राष्ट्रिय बाल दिवसको महत्त्वलाई थप उजागर गरेको छ।

सेयर कर दियो ।