बेलडाँडी । बेलडाँडी गाउँपालिका-५, भुर्सा मोहनपुरस्थित गणेश माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकका लागि अत्यन्तै खुसीको खबर सार्वजनिक गरेको छ। विद्यालयले बिहीबार जारी गरेको सूचनामार्फत यस शैक्षिक सत्र २०८३ देखि कक्षा ११ सम्म पूर्ण रूपमा निःशुल्क पठनपाठन गराइने जानकारी दिएको हो।

विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीद्वारा हस्ताक्षरित सूचनामा हालसम्म कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा सञ्चालन हुँदै आएकोमा अब कक्षा ११ मा समेत कुनै शुल्क नलिई अध्ययनको व्यवस्था गरिएको उल्लेख गरिएको छ। विद्यालयले भर्ना हुन बाँकी रहेका इच्छुक छात्र-छात्रालाई यथाशीघ्र नाम दर्ता गराई नियमित रूपमा अध्ययनमा सहभागी हुन आग्रह गरेको छ।

विद्यालयका अनुसार पठनपाठनलाई आधुनिक र प्रभावकारी बनाउन प्रविधिमैत्री शिक्षण प्रणाली अपनाइनेछ भने कम्प्युटर विषयको अध्ययन समेत सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई समयअनुकूल सीप र ज्ञान प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

अहिले देशका विभिन्न स्थानमा विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क असुल गरिरहेको गुनासो सुनिन थालेका बेला गणेश माध्यमिक विद्यालयले कक्षा ११ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नु वास्तवमै अनुकरणीय र प्रशंसनीय कदमका रूपमा हेरिएको छ। यस निर्णयले आर्थिक अभावका कारण उच्च माध्यमिक तहमा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थी र अभिभावकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावक, शिक्षक तथा बुद्धिजीवीहरूले विद्यालय व्यवस्थापन र नेतृत्वको यस निर्णयको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार विद्यालयले शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यलाई व्यवहारमै लागू गरेको छ, जसले आगामी दिनमा विद्यालयप्रति जनविश्वास अझ मजबुत बनाउनेछ।

केही समयअघि मात्रै विद्यालयको नेतृत्व सम्हाल्न आएका प्रधानाध्यापक विष्णु सिंह भण्डारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासन, नियमित पठनपाठन र विद्यार्थी आकर्षण बढाउने अभियानमा सक्रिय रूपमा जुटिरहेका छन्। उहाँको नेतृत्वमा शिक्षक तथा विद्यालय परिवारले विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यका साथ निरन्तर मेहनत गरिरहेको देखिन्छ।

दुई वर्षअघि आएको चौधर नदीको बाढी ले विद्यालयको भौतिक संरचनासँगै शैक्षिक गतिविधिमा समेत गम्भीर असर पुर्‍याएको थियो। लामो समयसम्म पठनपाठन प्रभावित हुँदा विद्यालयको समग्र शैक्षिक अवस्था कमजोर बनेको थियो। तर अहिले विद्यालय परिवार त्यस अवस्थाबाट माथि उठ्दै पुरानो शैक्षिक गौरव पुनःस्थापित गर्ने दृढ संकल्पका साथ अघि बढिरहेको छ।

यसैबीच बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षकको समर्पण, अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र स्थानीय समुदायको साथ-सहयोगले मात्रै विद्यालयको समग्र विकास सम्भव हुन्छ। गणेश माध्यमिक विद्यालयले अघि सारेको निःशुल्क शिक्षाको अभियानले गुणस्तरीय शिक्षा सबैका लागि सुनिश्चित गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ। विद्यालयको यो प्रयास सफल बनाउन सम्पूर्ण सरोकारवालाको निरन्तर साथ, सहयोग र सद्भाव आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

सेयर कर दियो ।