नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्वीट नेपालको आयोजनामा समावेशी शिक्षासम्बन्धी अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ माध्यमिक विद्यालय, जाईमा आयोजना गरिएको हो।

समावेशी शिक्षाको महत्व, आवश्यकता तथा सबै बालबालिकाले समान रूपमा शिक्षा पाउनुपर्ने अधिकारका विषयमा विद्यार्थीहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय, स्वतन्त्र माध्यमिक विद्यालय र रामेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा तीनवटै विद्यालयबाट तीन–तीन जना विद्यार्थी छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइएको थियो। विद्यार्थीहरूले समावेशी शिक्षा, शिक्षामा समान अवसर, अपाङ्गता भएका तथा विभिन्न पृष्ठभूमिका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने आवश्यकता लगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रतियोगितामा विद्यार्थीहरूले आत्मविश्वासका साथ आफ्ना धारणा प्रस्तुत गरेपछि कार्यक्रम थप रोचक र प्रतिस्पर्धात्मक बनेको थियो।
प्रतियोगितामा रामेश्वर माध्यमिक विद्यालयकी छात्रा प्रतिज्ञा भण्डारी प्रथम, स्वतन्त्र माध्यमिक विद्यालयकी छात्रा अमृता राना द्वितीय र रामेश्वर माध्यमिक विद्यालयकी छात्रा करिश्मा जोशी तृतीय भएकी छन्। विजेता विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम बैजनाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर कुँवरको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिकाका शिक्षा शाखा अधिकृत सिद्धराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै स्वीट नेपालका संस्थापक अध्यक्ष आमिर तिरुवा विशिष्ट अतिथि तथा स्वीट नेपालकी कार्यक्रम प्रबन्धक अति सुनार अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मीप्रसाद उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै समावेशी शिक्षाका विषयमा आफ्नो धारणा राख्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। यस्ता कार्यक्रमले विद्यालय तहदेखि नै समानता, सहभागिता र समावेशिताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





