कैलाली । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कैलालीको २६औँ जिल्ला परिषद् भव्यताका साथ सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष प्रभुनाथ जैशीको सभापतित्वमा सम्पन्न परिषद्मा राष्ट्रिय समिति सदस्य चक्र बहादुर विष्ट प्रमुख अतिथि रहनु  भएको थियो भने कार्यक्रममा राष्ट्रिय समिति सदस्य चक्र तिमिल्सेना तथा सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष खगेन्द्र धमला विशिष्ट अतिथि रहनुभएको थियो।

त्यसैगरी प्रदेश उपाध्यक्ष मनराज यादव, प्रदेश सचिवालय सदस्य नरेन्द्र शर्मा, प्रदेश समिति सदस्य, प्रदेश प्रतिनिधि तथा विभिन्न पालिकाका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभकामना मन्तव्य जिल्ला उपाध्यक्ष कर्णबहादुर सावदले व्यक्त गर्नुभएको थियो। परिषद्को उद्घाटन प्रमुख अतिथि चक्र बहादुर विष्टले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव गंगाराम ओझाले गर्नुभएको थियो।

परिषद्मा संगठनका गतिविधि, आर्थिक अवस्था तथा विभागीय कार्यसम्पादन समेटिएका चारवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो। सचिव गंगाराम ओझाले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नन्दलाल रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनको कुल आय–व्यय रु. ३० लाख ७४ हजार ३ सय ४३ रुपैयाँ ४९ पैसा रहेको जानकारी गराउनुभयो।

यसैगरी महिला उपाध्यक्ष सीता शाहले महिला विभागको प्रतिवेदन तथा मोतिकला रिजालले शिक्षक सहकारीसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत सबै प्रतिवेदनमाथि परिषद्मा छलफल गरी आवश्यक सुझावसहित पारित गरिएको जनाइएको छ।

परिषद्मा सहभागी वक्ताहरूले शिक्षकहरूको पेशागत हकहित, संगठनको संस्थागत सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संगठनलाई अझ प्रभावकारी र गतिशील बनाउने विषयमा जोड दिएका थिए। उनीहरूले शिक्षक एकता, व्यावसायिक क्षमता विकास र संगठनको भूमिकालाई थप सशक्त बनाउन सबै सदस्यलाई सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए।

जिल्ला परिषद्ले आगामी कार्ययोजना तय गर्दै संगठनलाई अझ सुदृढ, प्रभावकारी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा शैक्षिकसत्र २०८२के SEE परिक्षामा सवभन्दा बढी जिपिए ल्याउने २ जना छात्रा÷छात्रलाई नगद, सहित सम्मानपत्र प्रदान गरिएको थियो  सम्मान पाउनेमा सगुन्तला बेहरा  ३.९६, सन्देश तिमिल्सेन ३.९१ दुबै जना पञ्चोदय मावि धनगढीकै रहनु भएको थियो  र यसै गरी सेवानिवृत शिक्षकहरूलाई पनि दोसल्ला सहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यसम्पादनमा १३ वटै पालिका मध्ये सव भन्दा उत्कृष्ट पालिकाकाे रूपमा धनगढी नगर समितीलाइ घाेषणा गरि सम्मान गरिएकाे थियाे ।