धनगढी । नेपाल रानाथारु समाजको सातौं महाधिवेशनपछि देखिएको नेतृत्व विवाद अन्ततः सहमतिमा टुंगिएको छ । अध्यक्षका उम्मेदवार रहेका रवि रानाले कमल सिंह रानालाई समर्थन गर्दै संस्थालाई एकताबद्ध रूपमा अघि बढाउने सहमति भएको जानकारी दिएका छन् ।
नेपाल रानाथारु समाज, केन्द्रीय समितिको मिति २०८१ असोज २४ गते धनगढीस्थित सोराई ब्याङ्केटमा सम्पन्न सातौं महाधिवेशनमा नेतृत्व चयन लगायत केही सांगठनिक विषयमा विवाद उत्पन्न भएको थियो । उक्त विवाद समाधान गर्दै समाजको सामाजिक, भाषिक, शैक्षिक तथा सांस्कृतिक विकासलाई प्राथमिकतामा राखी संस्थालाई एकताबद्ध रूपमा अगाडि बढाउने सहमति भएको जनाइएको छ ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कैलालीलाई पठाइएको निवेदनमा आपसी छलफल र सहमतिपछि श्री कमल सिंह रानाको अध्यक्षतामा संस्थालाई अगाडि बढाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।
रवि रानाले सम्पूर्ण रानाथारु समुदायलाई एकताबद्ध भएर समाजको विकास र समुदायको हितका लागि सहकार्य गर्न अनुरोध गरेका छन् ।







