धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजेको समयमा होली खेल्ने क्रममा दुई पक्षबीच बादविवाद भएपछि झै–झगडा सुरु भएको थियो। घटनाको जानकारी पाउनासाथ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली र धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो।

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब २०० देखि २५० जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद घाइते भएका छन्। उनको अवस्था गम्भीरता रहेको बताइएको छ।

साथै जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुखले प्रयोग गर्ने बीएअसी ३४८० नम्बरको प्रहरी भ्यानको अगाडिको सिसा र बाँया साइडको झ्याल तोडफोड भएको छ।

विवादले झडपको रूप लिएपछि भीड नियन्त्रणमा लिन प्रहरीले टाइप–७७ पेस्तोलबाट ६ राउन्ड हवाई फायर गरेको जनाएको छ। घटनामा प्रहरी निरीक्षक बलराम पाण्डेय, प्रहरी सहायक निरीक्षक साउद तथा स्थानीय युवक लोकेश खत्री घाइते भएका छन्।

घाइते तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल पठाइएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

दुई टोलका युवाबीच पुरानो रिसइबीरिसीईबीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई स्थिति उग्र बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।