कैलाली, — असन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं. ५ का मतदातामा अन्योल बढ्दै गएको छ। विशेषगरी थारु तथा रानाथारु समुदायका मतदाताहरू आफूले भोट दिने उम्मेदवारबारे स्पष्ट निर्णयमा पुग्न नसकेको बताउँछन्।
स्थानीय मतदातासँग गरिएको कुराकानीमा धेरैले एउटै गुनासो दोहोर्याए—“हामीले चिनेको उम्मेदवार नै छैन, कसलाई भोट दिने?”
नेपाली काँग्रेसले नरनारायण शाह (मनु) लाई उम्मेदवार बनाएको भए पनि मतदाताहरूको भनाइमा उनी पार्टीभित्र जिम्मेवारीमा सक्रिय भए पनि जनस्तरमा खासै परिचित छैनन्। अघिल्लो निर्वाचनमा काँग्रेसबाट विजयी भएका डिल्लीराज पन्त चुनाव जितेपछि जनतामाझ नदेखिएको आरोप स्थानीयले लगाएका छन्। “विकासको कुरा त परै जाओस्, मुख समेत देख्न पाइएन,” एक मतदाताले गुनासो गरे।
त्यस्तै नेकपा एमालेतर्फका उम्मेदवार यज्ञराज ढुङ्गानाप्रति पनि मतदातामा विश्वासको कमी देखिन्छ। “नयाँ भनेर आएको उम्मेदवारले पार्टीभित्रकै नेता–कार्यकर्तालाई चिन्न सकेको छैन,” स्थानीयको टिप्पणी छ। पार्टीभित्रको आन्तरिक खिचातानी र टिकट वितरणको विवादले एमालेभित्र फेरि अघिल्लो चुनावजस्तै अवस्था दोहोरिने आशंका मतदाताहरूले व्यक्त गरेका छन्। “जब पार्टीभित्रै द्वन्द्व छ, भने हामी किन भोट दिने?” उनीहरूको प्रश्न छ।
नेकपा प्रति पनि मतदाताहरू सन्तुष्ट देखिँदैनन्। बारम्बार पार्टी फुट्ने–जोडिने प्रवृत्ति, विचारधारामा परिवर्तन, तथा “पर्यटक उम्मेदवार” ल्याउने आरोप मतदाताले लगाएका छन्। “चुनावपिच्छे नाम र विचार बदल्ने पार्टीलाई कसरी विश्वास गर्ने?” स्थानीयको भनाइ छ। साथै, बाहिरबाट ल्याइएका उम्मेदवारहरूले स्थानीय विकासभन्दा आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोज्ने आरोप समेत लगाइएको छ।
नयाँ शक्तिका रूपमा उदाउँदै आएका दलप्रति पनि मतदातामा मिश्रित प्रतिक्रिया देखिएको छ। “घण्टी” चिन्हप्रति पहाडी समुदायमा केही आकर्षण भए पनि थारु तथा रानाथारु समुदायमा भने त्यति प्रभाव देखिँदैन। “नयाँ भन्दैमा तुरुन्तै विश्वास गर्ने कुरा होइन,” उनीहरूको धारणा छ। अघिल्लो राजनीतिक अनुभवलाई स्मरण गर्दै उनीहरू भन्छन्, “हामीले पहिले पनि विश्वास गरेका थियौं,२०६३मा माओवादिलाई विश्वास गरेकै हो । आखिर के गरे । उनी त जनयुद्ध गरेर आएका हुन यिनीहरु त देशलाई खरानी बनाएर आएका हुन । नेपो बेवि भन्ने ले आफ्नै वेवि कता छन थाहा छैन । अरुको खेदो खन्ने र गालि गर्न पाए आफुलाई ठुलै मान्दा रैछन । त्यतालाई भोट कसरी दिने।
यसरी ठूला दलप्रति असन्तुष्टि र नयाँ तथा स्वतन्त्र उम्मेदवारप्रति विश्वासको अभावले मतदाताहरू स्पष्ट निर्णयमा पुग्न सकेका छैनन्। स्थानीय स्तरमा गरिएको विश्लेषणअनुसार ठूला दलका उम्मेदवारहरूमा देखिएको अहंकार र साना तथा स्वतन्त्र उम्मेदवारहरूको कमजोर जनसम्पर्क दुवै कारणले मतदाता अन्योलमा परेका हुन्।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाताको विश्वास जित्न सक्ने ठोस कार्यक्रम, स्पष्ट योजना र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सके मात्र यो अन्योल हट्ने देखिन्छ।