महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले दोदा नदी र त्यसका सहायक नदीहरूमा तटबन्धसहित सडक निर्माणको परियोजना अगाडि बढाइएको बताएका छन्। मंगलबार शुक्लाफाँटा नगरपालिका–५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू परराष्ट्रमन्त्री हुँदा उक्त योजना सुरु गरेको बताएका हुन्। ‘म परराष्ट्रमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको निर्माण कम्पनीसँग समन्वय गरी दोदा नदी तथा यसका सहायक नदी स्याली, सुनवरा, बनहरा र मेछेलीमा नदी नियन्त्रण योजना बनाउन आग्रह गरिएका थिए, अध्ययन टोलीले गरेको सर्वेक्षणमा करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो,’ उनले भने। योजनाअनुसार नदीका दुवै किनारमा तटबन्ध निर्माण गरी त्यसमाथि सडक निर्माण गर्ने साउदले बताए। उनका अनुसार ८४.६ किलोमिटर तटबन्ध र पहुँच सडक बनाउनेछ। १२ हजार वर्गकिलोमिटर जमिन संरक्षण गर्ने तथा ४५ हजार हेक्टर जमिन उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो। प्रारम्भिक लागत बढी भएको भन्दै सरकारले योजना परिमार्जन गर्न आग्रह गरेपछि पुनः अध्ययन गरी करिब ७ अर्ब रुपैयाँको बराबरको परियोजना बनाइएको उनले जानकारी दिए। ‘फाइल हाल अर्थमन्त्रालयमा अगाडि बढाउनका लागि तमतयार अवस्थामा छ,’ उनले भने, ‘ त्यसले हाम्रो क्षेत्रलाई त फाइदा हुने नै भयो, हाम्रो भन्दा बढी फाइदा क्षेत्र नम्बर १ लाई हुन्छ।’ स्याली नदीको पारिपट्टि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेकाले त्यहाँ तटबन्ध आवश्यक नरहेको र वारिपट्टिको क्षेत्र संरक्षणमा गनुपर्ने आवश्यक रहेको उनले बताए। ‘त्यो योजना कार्यान्वयन भएपछि संरक्षण हुन्छ, अर्थमन्त्रालयमार्फत एडीबीसँग सहकार्य गरेर त्यो योजना अगाडि बढाउँछौं,’ साउदले भने। आफू निर्वाचित भएमा प्रक्रिया छिटो अघि बढाउन सहज हुने उनको भनाई थियो।







