धनगढी: नेकपा एमालेको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६ सय शैयाको सुविधासम्पन्न अस्पतालसहित तत्काल सञ्चालनमा ल्याउन आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै ढुंगानाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको उल्लेख गर्दै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अब ढिलाइ गर्न नहुने बताएका हुन्। “गेटामा तत्काल ६ सय शैयाको अस्पताल सञ्चालन गरी एमबीबीएस अध्ययन सुरु गर्नुपर्छ,” उनले भने, “सबै प्रदेशमा मेडिकल कलेज स्थापना भइसक्दा पनि सुदूरपश्चिममा अझै पूर्ण संरचनासहितको मेडिकल कलेज सञ्चालनमा नआउनु दुःखद विषय हो।”
उनका अनुसार गेटा परियोजना लामो समयदेखि पूर्वाधार निर्माणको चरणमा रहे पनि शैक्षिक र अस्पताल सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा प्रदेशवासीले अपेक्षित लाभ लिन पाएका छैनन्। विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमका विद्यार्थीले आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने उनले दाबी गरे।
ढुंगानाले स्वास्थ्य सेवा सुधार आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्दै सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र उपकरण अभाव समाधानमा पहल गर्ने बताए। “म स्वयं स्वास्थ्य क्षेत्रबारे केही जानकार भएकाले सेवा प्रवाह सुधार र पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिनेछु,” उनले भने।
यसै सन्दर्भमा उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति आवश्यक रहेको औंल्याए। सेती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै नर्सिङ तथा अन्य स्वास्थ्यसम्बन्धी विषयको पठनपाठन सुरु गर्नुपर्नेमा उनले जोड दिए। “सेती अस्पताललाई सुदूरपश्चिमकै उत्कृष्ट रेफरल अस्पतालका रूपमा विकास गर्नुपर्छ,” ढुंगानाले भने।
ढुंगानाले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र रोजगारीका दृष्टिले आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे। उनले प्रदेशको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाए।







