कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–५ र कृष्णपुर नगरपालिका–२ का स्थानीय नागरिकलाई विद्युत सेवा प्रदान गर्दै आएको श्री कञ्चन ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।

कञ्चन ग्रामीण विद्युत सहकारीका अध्यक्ष गोपाल सिंह महराको अध्यक्षतामा सम्पन्न साधारण सभामा लालझाडी–५ का वडा अध्यक्ष पहल बहादुर थापा प्रमुख अतिथि रहेका थिए भने कृष्णपुर–२ का वडा सदस्य जित बहादुर चौधरी, विद्युत छाता संगठनका उपाध्यक्ष गोविन्द भट्ट, संस्थाका शेयर सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारण सभामा संस्थाको आन्तरिक परीक्षण प्रतिवेदन लेखा संयोजक केशवदत्त जोशीले प्रस्तुत गरेका थिए। त्यस्तै आ.व. २०८१/०८२ को ४३ लाख ८६ हजार १८५ रुपैयाँ बराबरको वार्षिक आय–व्यय विवरण तथा चालु आ.व. २०८२/०८३ का लागि ५२ लाख रुपैयाँको अनुमानित आय–व्यय व्यवस्थापक दिलिप भण्डारीले प्रस्तुत गरेका थिए। संस्थाका अध्यक्ष महराले आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना सभामा पेस गरेका थिए।

प्रगति प्रतिवेदनअनुसार सहकारीले विद्युत सेवा व्यवस्थापन र विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। नेपाल विद्युत प्राधिकरणमा विद्युत महसुल नियमित रूपमा बुझाइएको, महसुल नबुझाउने ग्राहकबाट बक्यौता असुल गरिएको, आर्थिक पारदर्शिताका लागि दोहोरो लेखा प्रणाली लागू गरिएको उल्लेख छ। साथै सेवाक्षेत्रका विभिन्न टोलमा पोल प्राप्त गरी लाइन विस्तार, सिङ्गल फेज क्षेत्रमा थ्री–फेज लाइन जडान, चोक–चौतारामा सेन्सर पोल बत्ती स्थापना तथा कार्यालय परिसरमा शौचालय र खानेपानीको व्यवस्था गरिएको अध्यक्ष महराले जानकारी दिए।

साधारण सभाले आ.व. २०८२/०८३ का लागि वार्षिक कार्ययोजना पनि स्वीकृत गरेको छ। कार्ययोजनाअनुसार विद्युत लाइन विस्तार, सिङ्गल फेजलाई डबल फेजमा रूपान्तरण, थप लोड व्यवस्थापनका लागि १०० केभीए ट्रान्सफर्मर खरिद तथा जडान, सेन्सर पोल बत्ती थप गर्ने, विभिन्न संघ–संस्था, गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयको सहकार्यमा पक्की कार्यालय निर्माण, आवश्यक फर्निचर तथा कम्प्युटर खरिद गरी सफ्टवेयरमार्फत पारदर्शी लेखा प्रणाली लागू गर्ने कार्यक्रम समावेश छन्।
यसैगरी सहकारीले आफ्नो सेवा क्षेत्रभित्र रहेका दुई सामुदायिक विद्यालयलाई निशुल्क विद्युत सेवा उपलब्ध गराउने निर्णय पनि गरेको छ। निर्णयअनुसार कृष्णपुर–२ स्थित श्री सिद्धनाथ बालज्योति आधारभूत विद्यालय र लालझाडी–५ स्थित श्री बैजनाथ बालज्योति आधारभूत विद्यालयको हालसम्म बाँकी विद्युत महसुल मिनाहा गर्नुका साथै आगामी दिनमा वार्षिक ६ हजार रुपैयाँसम्मको विद्युत महसुल सहकारीले व्यहोर्नेछ। ६ हजार रुपैयाँभन्दा बढी महसुल लागेमा सम्बन्धित विद्यालयले नै व्यहोर्ने निर्णय गरिएको सहकारीले जनाएको छ। कार्यक्रमको सञ्चालन योगराज जोशीले गरेका थिए।
वार्षिक साधारण सभामा विशिष्ट अतिथी विद्युत छाता संगठनका कैलाली उपाध्यक्ष गोविन्द भट्टले स्थानीयलाई विद्युत सहकारीले गर्दा सजिलो भएको, विद्युत सहकारीको महत्व र सेयर सदस्यका दायित्व बारे जानकारी गराए। साथै सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। त्यस्तै विशिष्ट अतिथी कृष्णपुर-२ का वडा सदस्य जित बहादुर चौधरीले आफ्नो पहलमा वडाबाट हुनसक्ने सहयोगका लागि पछि नहट्ने र विद्युत सहकारी को आवश्यकका आधारमा वडाबाट सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन्।
साधारण सभाका प्रमुख अतिथी लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापाले कञ्चन विद्युतले उत्कृष्ट कार्य सम्पादन गरीरहेको, वडाबाट विद्युत पोल उपलब्ध गराएर पोल मुक्त वडा घोषणा भएको साथै अझै आवश्यक सहयोग गर्न तयार रहेको र सम्बन्धित निकायहरुमा आवश्यक सहयोगका लागि पहल सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।







