मध्यावधि चुनाव नजिकिँदै जाँदा देशभरका राजनीतिक दलहरू प्रचार–प्रसार, भेटघाट र विभिन्न समुदायसँग सम्बन्ध विस्तारमा व्यस्त देखिएका छन्। यही क्रममा सुदूरपश्चिमका आदिवासी रानाथारु समुदायसँग जोडिएको परम्परागत सामाजिक सम्बन्ध ‘मीत लगाउने’ प्रचलन फेरि चर्चामा आएको छ। समुदायमा लगभग लोप भइसकेको यो सांस्कृतिक साइनोलाई चुनावी मौसममा नेताहरूले पुनः जीवित बनाएको भन्दै आलोचना सुरु भएको छ।

रानाथारु समुदायमा ‘मीत’ वा ‘दिलबर’को सम्बन्ध साधारण मित्रता होइन। यसलाई सगोलका दाजुभाइ सरहको अत्यन्तै पवित्र र विश्वासिलो सम्बन्धका रूपमा लिइन्छ। मीत बनेपछि एक–अर्काको घरमा विशेष सत्कार गरिन्छ, दुःख–सुख साटासाट गरिन्छ र पारिवारिक तहको आत्मीयता कायम हुन्छ। पूर्वजन्ममा विश्वास गर्ने रानाथारु समुदायमा मीतहरू अघिल्लो जन्मका सहोदर दाजुभाइ भएको र भगवानले यो जन्ममा पुनः भेट गराइदिएको विश्वास प्रचलित छ। अर्को जन्ममा पनि यही सम्बन्ध कायम रहने मान्यता समुदायमा गहिरो रूपमा जरा गाडेर बसेको छ।

पहिले प्रायः एउटै नाम भएका व्यक्तिहरूबीच मीत लगाउने चलन रहे पनि पछिल्ला वर्षहरूमा आपसी समझदारी र मन मिल्ने व्यक्तिसँग मीत लगाउने प्रचलन बढेको थियो। तर यही पवित्र सम्बन्धलाई केही टाठाबाठा र स्वार्थी व्यक्तिहरूले दुरुपयोग गर्दै आएको समुदायका अगुवाहरू बताउँछन्। कैलाली र कञ्चनपुरका भूमिपुत्र आदिवासी रानाथारुहरूको सरलता, इमानदारी र स्नेही व्यवहारको फाइदा उठाउँदै जग्गा जमिन हडपिएको, आर्थिक तथा सामाजिक रूपमा ठगिएको थुप्रै घटनाहरू अझै समुदायमा चर्चित छन्।

यस्ता तितो अनुभवका कारण रानाथारु समुदायभित्र ‘मीत लगाउने’ परम्परा पछिल्ला दशकहरूमा क्रमशः हराउँदै गएको थियो। तर चुनाव नजिकिँदै जाँदा यही परम्परा फेरि राजनीतिक हतियारका रूपमा प्रयोग हुन थालेको आरोप समुदायले लगाएको छ।

यसपटक सधैं डोटीबाट उम्मेदवारी दिँदै आएका पूर्वमन्त्री प्रेम आले कैलाली क्षेत्र नम्बर ५ बाट नेकपाका तर्फबाट उम्मेदवार बनेपछि रानाथारु समुदायसँग नजिकिन धनगढी उपमहानगरपालिका–११ का समाजसेवी राजेन्द्र रानासँग मीत लगाएको घटना चर्चामा छ। यसअघि २०७९ सालको चुनावमा कञ्चनपुरमा प्रदेशसभा सदस्यका उम्मेदवार सरल भाटले कृष्णपुर नगरपालिका–७ निवासी सामाजिक अगुवा सौला रानासँग मीत लगाएका थिए।

समुदायका बौद्धिक र अग्रज व्यक्तिहरू भन्छन्— पारिवारिक सम्बन्ध र आपसी स्नेहका लागि प्रयोग हुने यस्तो परम्परा प्रायः चुनाव नजिकिँदा मात्रै, त्यो पनि समाजमा प्रभाव पार्न सक्ने व्यक्तिसँग सीमित हुनु आफैंमा शंकास्पद छ। करिब आधा शताब्दीअघि स्वार्थी मीतहरूबाट धोका भोगेका धेरै रानाथारु परिवारहरू यस्ता घटनाबाट पुनः झस्किएका छन्।

समुदायका जानकारहरूका अनुसार आजको सन्दर्भमा ‘मीत लगाउने’ परम्परा राजनीतिक पहुँच बढाउने, भोट सुरक्षित गर्ने र भावनात्मक प्रभाव पार्ने ‘निन्जा टेक्निक’ का रूपमा प्रयोग भइरहेको छ। यसलाई राजनीतिक स्वार्थको औजारका रूपमा सबैले बुझिसकेको भए पनि खुला रूपमा विरोध गर्न भने अझै समुदाय हिच्किचाइरहेको देखिन्छ।

रानाथारु समुदायका अगुवाहरूले अब पवित्र सामाजिक परम्परालाई राजनीतिक फाइदाका लागि दुरुपयोग गर्न नदिने चेतावनी दिँदै आएका छन्। उनीहरूका अनुसार मीतको सम्बन्ध सम्मान, विश्वास र दीर्घकालीन आत्मीयतामा आधारित हुनुपर्छ, चुनाव जित्ने छोटो बाटोका रूपमा होइन।